
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ ।
प्रत्येक वर्ष लाखौंको संख्यामा धनुषासहित आसपासका जिल्लाहरुबाट पनि उपभोक्ताहरु किनमेल गर्न आउने दशैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझः आकर्षक बनाउने उद्देश्यले बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारवाला पक्षहरुबीच छलफल भएको छ ।
छलफलमा बजारको अनुगमन, बजारमा उपलब्ध गराइने सामानहरुको गुणस्तर परीक्षण, सुरक्षा व्यवस्था लगायतका विषयमा छलफल गरिएको छ । साथै प्रत्येक वर्ष भन्दा केही नौलोपन ल्याउनेमा जोड दिइएको छ । त्यसका लागि स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिन सहभागीहरुले जोड दिएका छन् ।
छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले ४० वर्ष देखि निरन्तर लाग्दै आएको सस्ता बजारमा यस वर्ष थप व्यवस्थित र यस क्षेत्रबाट उत्पादन हुने साबुन, अगरबत्ति, डिटरजेन्ट पाउडर, खाद्य पदार्थ लगायतका उत्पादनहरु किनबेचका लागि राखिने जानकारी दिए ।
अध्यक्ष भण्डारीले असोज ६ गते घटस्थापनाकै दिनदेखि जनकपुरधामस्थित गोपाल धर्मशालामा दशैँ बजार (सस्ता बजार) लाग्ने बताए । छलफलमा आगामी दिनमा जनकपुरधाममा रात्रिकालिन बजार लगाउने बारे वातावरण मिलाउन सम्बन्धीत निकायहरुसंग पहल अगाडि बढाउने बारे चर्चा गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij