Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १- नेपाल ए क्रिकेट टिमले आसामविरुद्धको टी-२० सिरिज जितेको छ । सोमबार सम्पन्न सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपाल ए ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो । नेपालले दिएको २०९ रनको विशाल लक्ष्य पछाएको आसामले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए ।

    images

    २- नेपालमा विदेशी पर्यटकको अगामन २२ प्रतिशतले बढेको छ । गत बर्षको अगस्त महिनामा भन्दा यस बर्षको अगस्तमा नेपाल आउने विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अगस्तमा कुल ८८ हजार ६८० विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अगस्तमा ७२ हजार ७१७ पर्यटक आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को अगस्तमा यो संख्या ९४ हजार ७४९ रहेको थियो । नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी ५३ प्रतिशत दक्षिण एशियाका रहेका छन् भने अन्य एशियन देशका १७.८ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी युरोपबाट १२.६ प्रतिशत, अमेरिकाबाट ८.२ प्रतिशत पर्यटक अगस्त महिनामा नेपाल आएका छन् ।

    ३- अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघेको छ । आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ८१२ भन्दा बढीको मृत्यु भएको अफगानिस्तानको विपद प्राधिकरणलाई उल्लेख गर्दै टोलोन्यूजले जानकारी दिएको छ । भूकम्पबाट अहिलेसम्म २८ सयभन्दा बढीघाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् । अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । विश्वका कैयौं देशहरुले भूकम्पमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै सहयोगको लागि अगाडी आएका छन् । भारत, साउदी अरब, जापान, रुसले सहयोगको हात गाडी बढाएको टोलोन्यूजले उल्लेख गरेको छ ।  यसैबीच भारतले तत्काल २ हजार टेन्ट र १५ टन खाद्यान्न उपलब्ध गराउने बताएको मिडिया रिपोर्टमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो ।  पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ ।

    ४- प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । शनिबार शिखर सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री ओलीले सोमबार सम्मेलनलाई सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले यस अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु,  लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथसँग भेटवार्ता गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजै रुसका राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

    images

    ५- पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा सेनाका दुई पाइलटसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई अधिकारी पनि छन्। पाकिस्तानी सेनाले एमआई-१७ हेलिकप्टर नियमित प्रशिक्षण अभियानका क्रममा दुर्घटनामा परेको बताएको छ । घटना डायमर जिल्लाको थाकादास क्यान्टोनमेन्टबाट लगभग १२ किलोमिटर टाढा रहेको हुडोर गाउँ नजिकै भएको थियो । हेलिकप्टर बाढी प्रभावित जिल्लाहरूबाट फर्कने क्रममा दुर्घटनामा परेको जियो न्युजले उल्लेख गरको छ । रिपोर्टका अनुसार दुर्घटना खराब मौसम र बाक्लो कुहिरोका कारण भएको बताइएको छ ।

    ६- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) आगामी आइसीसी महिला क्रिकेट विश्वकपमा विजेता टोलीलाई अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि दिने घोषणा गरको छ । यस पटक विश्वकप विजेता महिला टिमले ४.४८ मिलियन अमेरिकी डलर अर्थात् करिब साढे ६३ करोड पाउनेछ, जुन अघिल्लो संस्करणको पुरस्कार राशि १.३२ मिलियन डलर अर्थात् करिब १९ करोड भन्दा लगभग चार गुणा बढी हो । यस प्रतियोगिताको कुल पुरस्कार राशि १३.८८ मिलियन अमेरिकी डलर (लगभग १९६ करोड रहेको छ, जुन २०२२ मा न्युजील्याण्डमा आयोजित पछिल्लो विश्वकप ३.५ मिलियन डलर अर्थात् करिब ५० करोड भन्दा धेरै बढी रहेको छ । यो पुरस्कार राशि पुरुष विश्वकप २०२३ को १० मिलियन डलर भन्दा पनि  बढी रहेको छ । २०२३ मा भएको पुरुष एकदिवसीय विश्वकपको विजेता टोली अष्ट्रेलियाले करिब ५३ करोड रुपैयाँ पाएको थियो । त्यसैगरी उपविजेता भारतले करिब २७ करोड रुपैयाँ पाएको थियो । महिला एकदिवसीय विश्वकपको विजेता रकम योभन्दा धेरै बढी हो । आईसीसीले यो वृद्धिको उद्देश्य महिला क्रिकेटको लोकप्रियता बढाउनु र पुरुष सरह समान सम्मान दिनु भएको बताएको छ ।

    ७- आज नेप्सेमा वृद्धि भएको छ । आज सोमबार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका एक करोड १४ लाख ४० हजार ८४० कित्ता शेयर ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ मा कारोबार भएको थियो । आज अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।

    ८- नारायणगढ-मुग्लिङ सडक खण्डको १७ किलोमा मोटरसाइकल बससँग ठोक्किएपछि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकको मृत्यु भएको हो । नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग१ख ४१४० नम्बरको बससँग  विपरित दिशाबाट आउदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते भएका थिए । मोटरसाइकल चालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेको बताइएको छ ।

    ९- गृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको बताएका छन् । प्रेस युनियन पर्साद्वारा वीरगंजमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध नबिग्रिने बताउदै मित्र राष्ट्र भारतले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।  लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको बताए । उनले भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ ।  उनले भने- 'त्यो कुरामा हामी प्रष्ट भन्न चाँहन्छौं त्यसपसमा आपति छैन । र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन । यो हाम्रो हो हामी भनिरहन्छौं, यसले सम्बन्ध बिग्रनपर्ने कुरा पनि छैन ।’

    १०- चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) सम्मेलनमा भाग लिएपछिभारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले पुटिनसँगको भेटवार्ता बारे जानकारी दिदै व्यापार, मल, अन्तरिक्ष, सुरक्षा र संस्कृति लगायत सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल भएको बताएका छन् ।मोदीले पुटिनसँग युक्रेन युद्धको मुद्दामा पनि छलफल गरेको बताएका छन् । उनले भने- 'हामीले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानमा वार्ता सहित क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार साझा गर्यौं ।' मोदीले भारत र रुस बीचको सम्बन्धको बारेमा विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी क्षेत्रीय र विश्वव्यापी स्थिरताको एक महत्त्वपूर्ण स्तम्भ बनेको उल्लेख गरेका छन् । एससीओ सम्मेलनमा भाग लिएपछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा द्विपक्षीय बैठकको लागि प्रस्थान गरेका थिए ।

    ११- चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमाम कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । 

    १२-  मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने भएको छ । जलवायु सम्मेलनमा देशभरका ७५३ पालिकाका प्रतिनिधिहरू सहभागी हुने आयोजक घरपझोङ गाउँपालिकाले जानकारी दिएको छ । भाद्र ३१ मा हुने यो सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने समस्या र वातावरणीय संकटबारे साझा कार्ययोजना बनाउन केन्द्रित हुनेछ । सम्मेलनको संयोजन घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले गर्नेछन् भने हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने अवस्था र बढ्दो वातावरणीय संकटलाई सम्बोधन गर्न सबै पालिकाले साझा कार्ययोजना बनाउनुपर्ने आवश्यकता महसुस गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष लालचनले जानकारी दिएका छन् । विशेष रूपमा यो सम्मेलनले ७५३ पालिकाको साझा आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने र हिमाली भू–भागका चुनौतीहरूको समाधानमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ ।

    १३- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जबजको मान्यता अनुसार पार्टीको संगठन निर्माण गर्न नसकेको बताएका छन् । पुर्व मन्त्रीएंव एमाले नेता आनन्द पोखरेलको पार्टी निर्माणका अधार पुस्तक सार्बजनिक गर्दै महासचिव पोखरेलले जबजले आधारतभुत तहसम्म पार्टीको चेनअफ कमाण्ड स्थापित हुनुपर्नेमा अझै त्यसो गर्न नसकेको बताएका हुन् । उनले भने- हामीले वडालाई केन्द्र बनाएर काम गर्न सकेका छैनौं । अहिले पालिका तहको सक्रियतानै पार्टी जीवन्त रहेको आधार मान्ने हो भने देशको निर्णायक राष्ट्रिय शक्तिशाली पार्टी बन्ने लक्ष्य पुरा गर्न सक्दैनौं । हाम्रो नीति जनमत धुर्बिकरणको नीति बनाउन सकेका छैनौं । हामीले हाम्रो संगठनात्मक प्रणालीलाई आधारभूत तहसम्म पुर्याउन जरुरी छ र यो टोलतहसम्म पार्टीलाई पुर्याउनु पर्छ ।' महासचिव पोखरेलले वडा तहसम्म अनिवार्य पार्टी कार्यालय बनाउनु पर्ने बताउदै त्यसो गर्न नसके हाम्रो सामर्थ्य कम्जोर छ भन्ने बुझ्नुपर्ने बताए ।  उनले जतिबेला एमालेको नीतिलाई राष्ट्रको मुख्य नीति बनाउन सक्छौं, त्यति बेला मात्र पार्टी राष्ट्रको निर्णायक शक्ति बन्ने उनले बताए ।

    १४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् । बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए । भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै प्रचण्डले भने, 'सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु ।' प्रचण्डले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले भने- 'अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।'

    १५- प्रधानमन्त्री नरेन्द्र मोदीले शंघाई सहयोग संगठन (एससीओ ) शिखर सम्मेलनमा संयुक्त राष्ट्र संघको प्रणालीमा परिवर्तनको माग गरेका छन् ।  सोमबार सिखर सम्मेलनलाई सम्बोधन गर्दै मोदीले संयुक्त राष्ट्र संघ सुधारको लागि एससीओ देशहरूलाई अपील गरेका हुन् । मोदीले भने- 'एससीओ सदस्यहरूले विश्वव्यापी संस्थाहरूमा सुधारको लागि पारस्परिक सहयोग बढाउन सक्छन् । संयुक्त राष्ट्र संघको ८०औं वार्षिकोत्सवको अवसरमा, हामी सर्वसम्मतिले संयुक्त राष्ट्र संघ सुधारको लागि आह्वान गर्न सक्छौं । ग्लोबल साउथको आकांक्षालाई पुरानो ढाँचामा कैद गर्नु भावी पुस्ताहरूप्रति गम्भीर अन्याय हो । हामी नयाँ पुस्ताको बहुरंगी सपनाहरू पुरानो शैलीको कालो र सेतो पर्दामा देखाउन सक्दैनौं । पर्दा परिवर्तन गर्नुपर्छ ।' शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले पहलगाम आक्रमणको उल्लेख गर्दै 'आतंकवाद' लाई निशाना बनाए र मित्र राष्ट्रहरूलाई धन्यवाद दिए । मोदीले नाम नलिई पाकिस्तानलाई निशाना बनाएका थिए । मोदीले पहलगाम आक्रमणलाई उल्लेख गर्दै उनले यसलाई आतंकवादको सबैभन्दा खराब रूप भनेका थिए । मोदीले भारतले विगत चार दशकदेखि आतंकवादको सामना गरिरहेको बताउदै आतंकवादलाई केही देशहरूको खुला समर्थन कसरी स्वीकार गरिँदैछ भन्ने प्रश्न गरेका थिए ।

    १६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ ।  प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन विशेष कारणले स्थगित गरिएको जानकारी दिएका छन् । रास्वपाले आइतबार सचिवालय बैठकबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको बारेमा अनेकौं विषय बाहिर आएका छन् । थापाको उम्मेदवारी घोषणा हुनासाथ अहिले मिडिया र सामाजिक सञ्जालमा दुई विवाह गरेको, पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो खिचेको जस्ता विषयले उनी विवादमा परेका छन् । त्यस्तै रास्वपाको प्राइमरी निर्वाचनमा समेत अनियमितता भएको आशंका व्यक्त गरिएको थियो । केबल करिब ५६ प्रतिशत मतदान भएको प्राइमरी निर्वाचन बारे रास्वपाले पारदर्शी रुपमा जानकारी गराएको छैन ।

    १७- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १७ सयले बढेर तोलाको २ लाख ५ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मुल्य तोलाको २ लाख ३ हजार ६ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर २४७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २४२५ मा कारोबार भएको थियो ।

    १८- बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपछि आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न गरको छ । सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओमा छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

    १९- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा मुद्दा दायर भएको छ । न्यायपालिकाको निष्पक्षता र मर्यादामाथि गम्भीर आघात पुऱ्याउने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोप लगाउँदै कानूनका विद्यार्थी आयुष दाहालले आइतबार रिट दायर गरेका हुन् । रिटमा उनले वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टले समग्र न्यायपालिकाप्रति अनास्था फैलाएको र अदालतको गम्भीर अवहेलना भएको जिकिर गरेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भदौ ६ गते आफ्नो आधिकारिक फेसबुक पेजमा न्यायालयको अवस्थाप्रति टिप्पणी गर्दै  न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति नरहेको लेखेका थिए ।

    २०- लिग कपको रोमाञ्चक फाइनल खेलमा इन्टर मियामीलाई पराजित गर्दै सिएटल साउन्डर्स एफसीले उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा सिएटलले इन्टर मियामीलाई ३-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक लिग कप च्याम्पियन बनेको हो । सिएटल साउन्डर्सको जितमा ओसाजे डे रोसारियो, एलेक्स रोल्डान र पौल रोथ्रोकले एक एक गोल गरेका थिए । खेलको पहिलो हाफमै अग्रता लिएको सिएटलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन जारी राख्दै जित सुनिश्चित गरेको थियो । इन्टर मियामीका स्टार खेलाडी लियोनेल मेसीले केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । यो जितसहित सिएटल साउन्डर्सले लिग कपमा ऐतिहासिक सफलता हासिल गरेको छ भने इन्टर मियामी उपविजेतामा सीमित भएको छ । लिग कपको यो चौथो संस्करण हो । यस अघि २०१९ मा क्रुज अजुल, २०२१ मा लेओन, २०२३ मा इन्टर मियामी र २०२४ मा कोलुम्बस क्रियुले उपाधि जितेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij