Logo

Aug 29 2025 | २०८२, भदौ १३ गते

Aug 29 2025 | २०८२, भदौ १३ गते

प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । विहिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरुसँगको छलफलमा शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी गराइएको हो । प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादैछन् । प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

    images

    २- नेकपा माओवादी केन्द्रले उखु किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले विहिबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको हो ।

    ३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत आठ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियारले वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामामा ३६ लाख २० हजार ५७८ अनियमितता गरेको आरोप लगाएको छ । अख्तियारले भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृति बहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरु न्यू बिके विल्डर्स एण्ड सप्प्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरुद्ध विहिबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

    ४- मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झालाई उच्च अदालत पाटनले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको छ ।  उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।  जिल्ला अदालत काठमाडौंका गत साउन १४ मा न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । अहिराजले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । अहिराजविरुद्ध महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । गत साउन ४ गते पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । महिलाले आफूलाई २०८१ को ४ जेठमा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरेकी थिइन् । 

    images

    ५- आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन जेल सजाय सुनाएको छ । विहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा पाँच पाँच दिनको जेल सजाय र जरिवानाको फैसला सुनाएको हो । आशिकासँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो । अदाललते तामाङ र शरण तिरूवालाई पाँच-पाँच दिन कैद सजायका अलावा ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो ।

    ६- निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् । जसमा जिल्ला सदरमुकाममा खबरदारी सभा गर्नेम कालोझण्डा र ब्यानरसहित नजिकको चोकमा प्रदर्शन गर्ने र अनिश्चितकालका लागि विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम रहेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । उनीहरुले पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने,  विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई "गैर नाफामूलक" बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १०(क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्नेलगायतका माग अगाडी सारेका छन् ।

    ७- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानका माग बारे  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छलफल गरेका छन् । गगन थापाले कृषिमन्त्रीसँगको भेट बारे जानकारी दिदै कृषि तथा पशुपन्छी विकास मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भेटेर मुख्यतः दुई विषयमा छलफल गरेको बताएका छन् । महामन्त्री थापाले पहिलो, अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै भएको बताएका छन् । उनले बजेटको अभावका कुराहरू बाहिर आए पनि अवस्था त्यस्तो नरहेको उल्लेख गर्दै चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत 'उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)' शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको बताएका छन् । यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्ने उनको जोड छ । दोस्रो, किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्न नहुने भन्दै किसानहरूलाई पटक-पटक सडकमा आउने अवस्था सिर्जना गर्न नहुने बताएका छन् । उनले न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित र्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु-आयामिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले कृषि मन्त्रालयले यो दुवै विषयमा प्रस्ट रहेको र पहलकदमी गरी पनि रहेको आफुले पाएको बताउदै यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र नटुंगिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर-खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन आग्रह गरेका छन् ।

    ८- नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि- फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि - फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार प्रस्तावक कम्पनी जि - फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेश गर्नेछ ।

    ९- मधेश प्रदेशमा हाल झाडापखाला तथा हैजाका २८३ सक्रिय केस रहेका छन् ।  प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बुधबारसम्म गरेको परिक्षणको आँकडा अनुसार प्रदेशमा ११५ जना नयाँ केस थपिएको उल्लेख गरेको छ भने हालसम्म २८३ सक्रिय केस रहेको उल्लेख छ ।  केन्द्रले हाल सबैभन्दा बढी नारायणी आस्पतालमा १५८ जना उपचारत रहेका छन् भने अन्य १३ अस्पतालमा अन्य बाँकी संक्रमित उपचारत रहेका छन् ।  केन्द्रले अहिलेसम्म २५७ जना ठिक भएको उल्लेख गरेको छ । अहिलेसम्म संक्रमित पुष्टि भएकामध्ये अधिकांश वीरगन्ज महानगरपालिका वडा नम्बर ३, ११, १२, १३ र १६ का रहेका छन् । नारायणी अस्पताल बाहेक तराई अस्पताल, नेसनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर, भवानी अस्पताल, प्रभु अस्पताल, एडभान्स मेडिकेयर अस्पतालमा, नारायणी सेन्टर अस्पताल, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा, सर्वोत्तम  अस्पताल र गण्डक अस्पतालमा संक्रमितहरुको उपचार भइरहेको केन्द्रले जानकारी दिएको छ । 

    १०- नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि हार बेहोरेको छ । साउथ अस्ट्रेलियाले दोस्रो खेलमा नेपालमाथि ३ रनको जित हासिल गरेको हो । साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो । यस अघि साउथ अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । यस अघि आजै सम्पन्न पहिलो खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । अब नेपालले अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।

    ११- रुसको आक्रमणमा युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रूसी आक्रमणमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जेलेन्स्कीले रूसले 'वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेको' टिप्पणी गरेका छन् । उनले रूसमाथि 'नयाँ र कडा प्रतिबन्ध' लगाउने आवश्यकता पनि दोहोर्‍याए । त्यस्तै किभका मेयर भिटाली क्लिट्स्कोले ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएको बताएका छन् । यो मिसाइल आक्रमण त्यस्तो समयमा भएको हो जब बुधबार रूसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति पुगेको थियो, जसका कारण एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।

    १२- नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघके जनाएको छ ।  शिक्षक महासंघले बुधबार नेपाली कांग्रेसको कार्यलय सानेपामा धर्ना दिएको थियो । त्यसै गरी महासंघले २०८२ भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने महासंघले जानकारी दिएको छ । त्यस्तै महासंघले भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेपछि त्यसमा रहेका प्रावधानमा असहमति जनाउदै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    १३- च्याटजिपिटीको मूल कम्पनी ओपनएआईले भारतमा आफ्नो कार्यालय खोल्ने भएको छ । कम्पनीले यस बर्षको अन्त्यसम्म भारतको नयाँ दिल्लीमा आफ्नो पहिलो अफिस खोल्ने बताएको छ । ओपन एआईले  भारतमा आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ । प्रयोगकर्ता संख्याको हिसाबले भारत कम्पनीको दोस्रो ठूलो बजार हो । दिल्लीमा कार्यालयको स्थान अझै खुलासा गरिएको छैन । यद्यपि, ओपनएआईले भारतमा कार्यालय खोल्ने प्रक्रिया शुरु गरेको छ। ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले भारतमा एआईको लागि उत्साह र अवसरको स्तर अविश्वसनीय रहेको बताएका छन् । उनले भारतमा विश्वव्यापी एआईको अग्रणी बन्नको लागि आवश्यक सबै तत्वहरू रहेको बताएका छन् । यसमा प्राविधिक प्रतिभा, विश्वस्तरीय विकासकर्ता इकोसिस्टम र भारत एआई मिशनमा सरकारी सहयोग जस्ता कुरा रहेका छन् ।

    १४- स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बाँडफाँड गरिएको छ ।  विहिबार गरिएको बाँडफाँडमा १९ हजार १९० जनाले १०- १० कित्ता शेयर परेको छ भने पाँच जनालाई एक एक कित्ता शेयर लक्की ड्रबाट परेको छ । स्वस्तिक लघुवित्तको आइपिओका लागि २४ लाख ४० हजार ४६० आवेदकले आवेदन दिएकोमा २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जानकारी दिएको छ । जसमा १९ हजार १९५ ले मात्र शेयर पाएका छन् भने २४ लाख १७ हजार १९८ आवेदकको हात खाली भएको छ । 

    १५- हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ । महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र २ वटा पुष्टि भएको र जसमध्ये १ वटा केश वीरगंज महानगर-५ मा पुष्टि भएको जानकारी दिएको छ । महानगरले यस अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाभित्र यस रोगको संक्रमण फैलिन नदिन विशेष सतर्कता र सावधानी अपनाउन सम्पूर्ण सुँगुर तथा बंगुरपालक किसानलाई अनुरोध गरेको छ । यससँगै, सुँगुर र बंगुरको अनावश्यक ओसारपसार नगर्न र रोगसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखापरेमा तत्कालै महानगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरले  ३२ वटै वडामा औषधि छर्कने अभियान सुरु गरेको बताएको छ ।

    १६- आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ननलाइफ इन्सुरेन्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

    १७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३४५ मा कारोबार भएको थियो ।  

    १८- डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान सदरमुकामतर्फ जादै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म चार जनाको शव फेला परेको बताएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण  खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ  ।

    १९- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनिलाई सात दिन भित्र दर्ता हुन आव्हान गरेको छ । विहिबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको हो । मन्त्रालयले तोकिएको समयसीमा भित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको उल्लेख छ ।

    २०- ऋषिपञ्चमी पर्व विहिबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले गल्तीबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट