
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटेको छ ।
बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेस गरे ।
अब यी सबै डकुमेन्टहरुलाई स्थायी कमिटीमा लैजाने प्रचण्ड– माधव नेपाल पक्षको तयारी छ । प्रचण्डसहित सचिवालयका पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले बैठक माग गर्दै ओलीलाई बुझाएको पत्र, त्यस पत्रमा ओलीको जवाफी पत्र अनि फेरि प्रचण्डले लेखेको प्रतिउत्तर पत्रसमेत स्थायी कमिटी बैठकका छलफलका लागि लैजाने प्रचण्ड पक्षका नेताहरुको तयारी छ ।
तर, ओली पक्षले भने सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी कमिटीमा लैजानुपर्ने तर्क गरिरहेको छ । यदि, स्थायी कमिटीमा साझा प्रस्ताव लैजान नसकिए पनि प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने अडान ओली समूहको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij