Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ ।
नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्कालगायतले बिदाई गरेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिम आजै अस्ट्रेलियातर्फ प्रस्थान गर्दैछ । यसैबीच स्पीनर ललित राजवंशीको ठाउमा साहब आलम अस्ट्रेलिया जाने भएका छन् ।
यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो । ललितकी आमाको आइतबार बिहान विराटनगरस्थित निवासमा निधन भएको थियो ।
क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र सहाब आलम रहेका छन् ।
अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन्।
नेपालले १५ अगस्तमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ए मा, १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग,२०अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका भएको छ । २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिने भएको आयोजकले जनाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij