
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौं । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व संकलन गरेको छ । वि.सं. २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो ।
आव २०८१/८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो। लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताए ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीसमेत घटेको छ । आव २०८०/८१ मा भद्रपुर भन्सार कार्यालयले रु २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थियो। आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीमा रु तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ ।
झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो । भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन् ।
विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो । लक्ष्यको तुलनामा आव २०७८/७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९/८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । वि.सं. २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सारको रुपमा उद्घाटन गरेका थिए ।
भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पार्टस्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij