
Jul 16 2025 | २०८२, असार ३२ गते
काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघको १९ औँ स्थापना दिवसका अवसरमा ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद साह सम्मानित भएका छन् ।
स्थापना दिवसको उद्घाटन बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए । त्यस अवसरमा कुलपति राईले साहित्यिक पत्रकारिताले साहित्यिक सर्जक उत्पादन गर्नका निम्ति खेलेको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।
नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान गरेको कदापि भुल्न नसकिने भन्दै उनले समावेशी र समानताको आधारमा साहित्यिक पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा सम्मानित हुनेलाई प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले दोसल्ला ओढाए । कार्यक्रममा विशिष्ट अतिथि समालोचक ईश्वरचन्द्र ज्ञवालीले संघले साहित्यिक पत्रकारिताको विकासमा पुर्याएको योगदानबारे चर्चा गरे ।
विशिष्ट अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रवर्द्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा ,साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij