
Apr 28 2025 | २०८२, वैशाख १५ गते
हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगति
काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसन लाइन विस्तार अघि बढाएको हो ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ स्थित कोरलानाका सम्म हाल ११ केभी विद्युत् क्षमताको प्रशारण लाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ –२ कोवाङसम्म केन्द्रीय प्रशारण लाइन अन्तर्गत ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको पहुँच पु¥याएको छ । यसलाई जिल्लाभरि नै केन्द्रीय प्रशारण लाइनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रशारण लाइनको योजना अघि बढाएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापपदण्ड अनुसार एक सब स्टेशनबाट अर्को विद्युत् सब स्टेशनसम्म विद्युत् प्रशारण गर्नका लागि ५० किलोमिटर भन्दामाथि जानुहुँदैन । तर मुस्ताङको कोवाङदेखि कोरलानाका सम्म करिब एक सय ५० किलोमिटर दुरीमा सिधैँ ११ केभीको विद्युत् प्रशारणलाइन सञ्चालनमा छ ।
यसैका कारण मुस्ताङ जिल्लामा पटक-पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती हुने अवस्था विद्यमान छ । हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको विद्युत् प्रशारणलाइन सिधैँ ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्या झेल्दै आइरहेका छन् । हालको ११ केभी विद्युत् लाइनको सेवाले कुनै एक स्थानमा विद्युत् समस्या आइपर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने बाध्यकारी अवस्था छ ।
“अहिले जोमसोम र ठिनीलगायतका दुई-तीन स्थानमा विद्युत् तार तान्ने काम भइरहेको छ”, इञ्जिनियर मण्डलले भन्नुभयो, “उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ पनि अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौँं ।” मुस्ता¬ङको चराङसम्म ३३ केभी ट्रान्समिसन प्रशारण लाइनको काम सकिए लगत्तै विद्युत् प्रशारणको परीक्षण स्वरुप लाइन सञ्चालनमा ल्याएर प्राधिकरण लाई हस्तान्तरण गर्ने योजना छ ।
यसैगरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रशारणलाइन विस्तारका लागि मुस्ताङको वारागसङ मुक्तिक्षेत्र–३ चैले र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ चराङमा गरी दुई वटा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का आह्वान एकवर्ष अघिनै गरिसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij