
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले यसले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै पनि दबाब नदिने स्पष्ट गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए ।
'वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, दिर्दोषलाई राज्य संयन्त्र प्रयोग गरेर फसाउ भन्नने अपराध गर्दैन र दोषीलाई छाड्दैन पनि ।’, प्रधानमन्त्री ओलीले भने, 'यो सरकार केवल एक सरकारको ठाउँमा अर्काे सरकार होइन, यसले केही गरौँ भन्ने अठोट लिएको छ । अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति यसले बोकेको छ । वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने सङ्कल्पका साथ गठन भएको छ । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न प्रहरी स्वतन्त्रतापूर्वक लाग्नुपर्छ । उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा पछि पर्नु हुँदैन ।’
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने बताउँदै उनले भने, 'झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरु कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij