Jun 04 2026 | २०८३, जेठ २१ गते
डम्बर पौडेल
काठमाडौं । हरेक जमिनले आफ्नो क्षेत्रफल अनुसारको आकाश पाउछ, हरेक युगका मानिसले आफ्नो औकात अनुसारको विकास पाउँछन् र हरेक समाजले आफ्नै हैसियत अनुसारको नेता पाउँछ।
कुनै समाजशास्त्रका प्रोफेसर वा विशिष्ट राजनीतिज्ञ राउटे समुदायमा गएर 'मलाई यहाँको मुखिया छनोट गर म यो समुदायको समुल विकास गरिदिन्छु' भनेर बिन्ती बिसाउँदा पनि मुखिया छनोट हुन संभब छैन । उनीहरु आफ्नै धरातलको कसैलाई आफ्नो नेता (मुखिया) चुन्छन् ।
हाम्रो देशका नेताहरुको चिन्तन, दक्षता र दुरदर्शिता नाप्ने दायित्व आम जनताकै हो । राष्ट्रप्रति अगाध आस्था, विकास प्रतिको चिन्ता, तत्कालिन परिस्थितिको ज्ञान र राजनीति जानकारी भएका नागरिक यो देशमा नभएका भने होईनन् तर संख्यात्मक हिसाबमा त्यो समुदाय न्यून रहेको हुँदा नेता छनोट गर्ने क्रममा उक्त सचेत समुदायको मत छायाँमा परेको कुरा निर्बिवाद छ।
उक्त तप्कालाई छोडेर बाँकी जमातलाई आम जनता मानिदिने हो भने नेता छनोट गर्ने क्षमता आमजनतासँग छ । तर नेताको क्षमता जाँच गर्ने आफ्नो क्षमता भने ज्यादै धमिलोछ। अर्थात जनताको ठूलो हिस्सासँग त्यो क्षमता छैन जसले आफ्ना नेताको क्षमता निष्पक्ष जाँच्न सकोस् ।
आफ्ना नेता प्रतिको आम जनताको अपेक्षा पनि सतही र क्षणिक भएका कारण नेताले गहन, दिर्घकालिन र राष्ट्रोपयोगी सोच राखिरहनु आवस्यक ठान्दैनन् ।अझ आफू नजिकका स्वार्थ समूहका अपेक्षाका फोकाहरु पनि प्रसस्तै हुन्छन् जसलाई राष्ट्रियताको तराजुमा राखेर तौलिने हो भने खासै वजनदार चाहिं हुदैनन् । यी र यस्तै अपेक्षा पूरा गर्नमा नै धेरै समय र मानसिक उर्जा खर्च गर्नु हाम्रा नेताहरुको मुल चरित्र देखिन्छ ।
यस्ता कम महत्वका कामहरु गरेर ठूलै समर जितेको आत्मरतीमा रमाउनुले प्रष्ट हुन्छ देश प्रतिको चेत । क्षणिक लाभ लिन सफल भएका कुनै झुण्डले गाउने नेताको स्वस्ती गानलाई आफ्नो सफलतासँग जोडेर प्रफुल्लित हुनु अनौठो मानिदैन ।
अबको युग बिज्ञान प्रविधिको युग भएको हुदा नेतृत्वकर्तामा यस बिषयको ज्ञान हुनु जरुरी छ। आफुमा बिषयगत ज्ञान छैन भने 'ममा कुन क्षेत्रको ज्ञान छैन' भन्ने चाहिँ ज्ञान हुनुपर्छ। त्यतिमात्र हुदा पनि विषय बिज्ञहरुको सहयोग लिन सकिन्छ।अर्थतन्त्रका नयाँ आयामहरुको विषयमा दख्खल राख्नु पर्छ।
शैद्धान्तिक रटान र किताबी शिक्षालाई मात्र ज्ञानको मानक बनाउनु पनि सतप्रतिशत सहि नहुन सक्छ।राष्ट्रिय आयका उच्चतम् स्रोतको पहिचान र परिचालनमा बढि केन्द्रित हुनु आजको टड्कालो आवस्यक्ता बिर्सनु नहुने।
हाम्रो नेतृत्वले प्रायस् कुनै संस्थामा ब्यक्तीगत फेरबदल,वा स्वार्थ समुहको छानबिन र झिना मसिना नियमित काममा नै बढि समय खर्च गर्ने गर्छन् । अरु निकायले गर्ने काममा धेरै मानसिक कसरत गर्ने गरेको हुँदा मुल काम छुटेर गएको पत्तो हुँदैन।
राज्यको मेरुदण्ड केके हन् पहिचान गरेर सोही बिषयमा मात्र धेरै चिन्तन र सघन निर्णय गरिदिने हो भने राष्ट्रको सर्वाङ्गीण बिकास त्यति टाढाको बिषय होईन ।
आम जनताले आफ्नो पायक पर्ने नेता जति स्खलित भएपनि विबेक बन्दगी राखेर रेडिमेड समर्थनको ढोल मात्र पिटिरहने गर्छन् ।
यसका साथै आफुलाई पायक नपर्ने नेताले राष्ट्रहितमै काम गरेपनि तथ्यहिन आलोचनाको लुतो फाल्ने काम नगर्ने हो भने कि नेताको चेत फेरिन्थ्यो कि नयाँ नेताको जन्म हुन्थ्यो । अन्यथा राष्ट्रको महत्वपुर्ण काम गर्नु पर्ने नेताले वृक्षारोपण गर्ने, कुचो लगाउने, धान रोप्ने जस्ता कामहरु गरेर धेरै हिउँद पार गर्ने छन् । हामी त्यस्तै कार्यको तस्बिर हेरेर खुसि मनाउँदै दशकौँ सम्म बिकासको आशमा आँखा ओछ्याउन बाध्य हुने छौं ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij