Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँको घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको मात्रै निर्यात गरेको देखिएको हो ।
विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात र एक खर्ब ५७ अर्ब १४ करोड छ लाख रुपैयाँ बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ पुगेको थियो ।
अघिल्लो आवको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो ।
गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ । गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ । भारतबाट नौ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब तीन अर्ब १७ करोड रुपैयाँ बराबर मात्रै निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा आठ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ बराबर छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij