
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाण्डौ । अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसम्मत नेतृत्व चयन गरेको एकीकृत समाजवादीले अरू पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत बनाउने प्रयास गरेको छ । अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भइसकेका छन् ।
एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान छ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष छ, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् ।
केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । हरेक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्य बराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसङ्ख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् ।
पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको चयन गर्दा हरेक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने व्यवस्था छ । काठमाण्डौको प्रज्ञा भवनमा गएको आइतवारदेखि शुरु भएको एकीकृत समाजवादीको महाधिवेशन आज सकिँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij