
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूकुम पश्चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।
पक्राउमध्ये रूपेशले रोमानिया पठाइदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाडौं आलोकनगरबाट, राजुलाई काठमाडौं नागपोखरीबाट र युवराजलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij