
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं -- विपक्षी गठबन्धनको बैठकमा सहभागी भएर माधव नेपालले एकैपटक केपी शर्मा ओली, प्रचण्ड र रवि लामिछानेको मुटुमा ढ्यांग्रो ठोकिदिएका छन् । कुनै बेला नेता नेपालको एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकार छोडे आश्चर्य नमाने हुन्छ । त्यसको संकेत उनले विपक्षी गठबन्धनको बैठकमा सहभागी भएर दिएका छन् ।
यस अवस्थामा एकीकृत समाजवादीलाई प्रचण्ड र ओलीले सत्ताबाट हटाउन पनि सक्छन् । माधव नेपालको भाग्य दह्रो रहेछ भने उनी विपक्षी गठबन्धनबाट प्रधानमन्त्री बन्न पनि सक्छन् । राजनीति सम्भावना नै सम्भावनाको खेल हो । यहाँ कुनै पनि दृश्य कुनै पनि बेला देखिन सक्छ ।
सर्वोच्च अदालतले उपेन्द्र यादवको पार्टी विभाजनलाई मान्यता नदिए एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा र कांग्रेस मिलेर नयाँ सरकार बन्न पनि सक्छ । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यति साह्रो न बिच्काएको भए सहजै कांग्रेस नेतृत्वको सरकार बन्न सक्थ्यो । तर रास्वपाको २१ सिटको कारण यतिखेर शेरबहादुर देउवाको छैटौं पटक प्रधानमन्त्री हुने सपना रोकिन पुगेको छ ।
तर पनि उनी विपक्षी गठबन्धन फोडेर नयाँ सत्ता समीकरण बनाउन लागिपरेकै छन् । देउवा धेरै नबोल्ने, कसैलाई चिढ्याउन नखोज्ने तर आफ्नो मिसनमा भित्रभित्रै लागिरहने नेता हुन् । माधव नेपालले एकै पटक दुई नाउमा खुट्टा हालेर ठूलो जोखिम लिन खोज्दैछन् । कहिलेकाहीं दुवै नाउबाट झरेर डुब्न पनि सक्छन् । तथापि नेपालले अर्को डुंगामा खुट्टा किन राख्दै छन् ? रहरले कि बाध्यताले ? त्यसको खोजी हुनु जरुरी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij