
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले क्यानडासँग लज्जास्पद हार ब्योहरेको छ ।
अमेरिकाको डलासमा गएराती भएको खेलमा क्यानडासँग नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो । क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटिन बाध्य भयो ।
नेपालका शीर्षक्रमका ब्याटर चल्न नसक्दा नेपालले हार ब्योहर्नु पर्यो । कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन मात्र जोड्न सके ।
अनिल साहले १६ बलमा २४ रन बनाए भने आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोड्न सफल भए ।
अन्य कुनै ब्याटरले दोहोरो अंक ल्याउनै सकेनन् । सन्दिप जोराले ६ रन बनाउँदा करन केसी र सागर ढकालले समान ५ रन बनाएका थिए । सोमपाल कामीले ४ रन बनाए भने कप्तान रोहित पौडेल १ रनमा आउट भए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । नेपालले दोस्रो वार्मअप खेल आगामी बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij