
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज बिहान भएको भेटवार्तामा सदनको गतिरोध हटाउने विषयमा कुराकानी भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारले ल्याउन लागेको बजेटको तयारीका विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
छलफलमा राष्ट्रपति पौडेलले प्रतिनिधि र राष्ट्रिय दुवै सदनमा हाल भइरहेको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारीका विषय उठाउँदै कांग्रेस लगायतका विपक्षी दलले सदन अवरुद्ध पार्दै आइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij