
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । सोमबार तोकिएको सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सुनवाइ स्थगित भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा सन्दीपको मुद्दा परेको थियो । तर, न्यायाधीशले मुद्दालाई सुनवाइ गर्न नभ्याइनेमा राखे ।
८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको थियो । मुद्दाको अर्को पेसी आजै तोकिनेछ । ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो ।
सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुने छ । आउँदो जुनमा जुन १ देखि अमेरिका र वेस्टइन्डिजमा आइसिसी टी–२० विश्वकप क्रिकेट हुँदै छ ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।
यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो । सन्दीपले खेल्नका लागि मुद्दा त्यो भन्दा महिना दिनअघि टुङ्गिनुपर्ने छ । अहिले उनको मुद्दा लम्बिइरहेकाले उनले टी–२० खेल्न पाउने सम्भावना कम रहेको बताइन्छ ।
यदि त्यसअघि जिल्ला अदालत काठमाडौंको फैसला बदर भएमा उनले सफाइ पाउनेछन् । त्यो अवस्थामा भने खेल्न जान पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij