Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सीमाको मुद्दा नेपालले उठाउने, भारतले पन्छाउने

सीमाको मुद्दा नेपालले उठाउने, भारतले पन्छाउने

  • काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।

    images
    images
    images

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । भारतले गत वर्ष कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण छ । तनावकै बीच नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाई लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गरेको थियो । उक्त नक्सालाई भारतले अस्वीकार गर्दै आएको छ । सीमा विवाद सुल्झाउने विषयलाई नेपालले विशेष जोड दिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिमा समेत आयोगका बैठक र सीमाको विषयले प्राथमिकता पाइरहेकाले यसप्रति चासो बढेको हो ।

    सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा पनि प्रधानमन्त्री ओलीले नक्सा प्रकाशनलाई स्वाभाविक रूपमा लिनुपर्ने र सीमासम्बन्धी विवाद छलफलबाट टुंग्याउन सकिने बताएका थिए । यसबाट पनि नेपाली पक्षले द्विपक्षीय बैठकमा सीमा विवादमाथि सघन छलफल गर्न चाहेको प्रस्ट हुन्छ । परराष्ट्र स्रोतका अनुसार नेपाली पक्षले बैठकमा सीमासम्बन्धी विषयलाई उठाउने राम्रै तयारी गरेको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बैठकमा सीमा मात्र नभएर दुई देशबीचका सबै बृहत् विषयमा छलफल हुने र सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

    भारतीय पक्ष भने यस विषयमा बृहत् रूपमा छलफल गर्न इच्छुक देखिँदैन । ‘बैठकमा विषय त उठ्ने छ तर भारतको बृहत् छलफल गर्ने रुचि नभएकाले नयाँ केही हुने सम्भावना छैन,’ स्रोतले भन्यो । स्रोतका अनुसार बैठकमा सीमा विवादलाई ६ महिनाभित्र थप छलफल गर्नका लागि विदेश सचिवस्तरीय संयन्त्रलाई निर्देशन दिने निर्णय हुने सम्भावना छ । सन् २०१४ को मन्त्रीस्तरीय बैठकले दुई देशबीच कालापानी र सुस्तालगायत सीमा क्षेत्रको विवाद सुल्झाउन विदेश सचिवस्तरीय संयन्त्र गठन गरेको थियो । त्यही बैठकले विदेश सचिवस्तरीय संयन्त्रलाई सघाउन सीमासम्बन्धी प्राविधिक समिति (बाउन्ड्री वर्किङ ग्रुप, बीडब्लूजी) गठन गर्ने निर्णयसमेत गरेको थियो । कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij