
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेको छ । शुक्रबार टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त प्रमाणलाई उचित संयोजन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताएकी हुन् ।
अध्यक्ष प्रधानाङ्गले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको टीआई नेपालले स्वागत गरेको बताएकी छिन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टीआई नेपाल जोडदार आग्रह गर्दछ ।’
कुनै पनि प्रकारको दबाब र प्रभावबाट मुक्त निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीहरूमाथिको कारबाही हुनुपर्ने पनि टीआई नेपालको भनाइ छ । ‘आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असुली गर्ने र किर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लुट र मानव तस्करीको संगठित अपराध मात्र होइन, राज्यविरुद्धको, नागरिकविरुद्धको र मानवताविरुद्धको अक्षम्य अपराध समेत हो । यो अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रहरूको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो,’ टीआई नेपालको विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij