Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

 स्थानीय तहका महिला नेतृत्वका अनुभव

 स्थानीय तहका महिला नेतृत्वका अनुभव

  • काठमाडौँ ।स्याङ्जा जिल्लामा रहेका ११ पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । करीब साढे तीन वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनबाट स्याङ्जाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडाका अध्यक्षमा महिला निर्वाचित भएका हुन् ।  स्याङ्जाको फेदीखोला गाउँपालिका– ५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी गाउँपालिका– ४ मा जीतकुमारी चपाई र हरिनास गाउँपालिका– ७ मा केशमाया थापा अध्यक्षमा विजयी हुनुभएको हो । तीनै जना नेकपाबाट विजयी बन्नुभएको हो । नेपाल पितृसतात्मक समाज भएकाले महिला राजनीतिमा सक्रिय हुनु र विजयी बनेसँगै वडाको नेतृत्व लिएर दिनहुँ सामाजिक कामकाजमा खटिनुपर्दा आइपर्ने समस्या त छँदैछन् । साथमा उनीहरुले यी समस्यालाई अवसरका रुपमा प्रयोग गर्न सकेका छन् । 

    images
    images
    images

     जनताले पाँच वर्षका लागि दिएको अवसरलाई सदुपयोग गर्दै केही गरेर देखाउनुपर्छ भन्ने दृढ सङ्कल्पका साथ उहाँहरु काममा खटिरहनुभएको छ । फेदीखोला गाउँपालिका– ५ की वडा अध्यक्ष गुरुङ वडा अध्यक्ष बन्नुपूर्व गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । विसं २०६८ देखि गैरसरकारी संस्थामा काम गर्नुभएकी गुरुङलाई नेकपाले वडा अध्यक्षको उम्मेदवार बनायो । उहाँ विभिन्न मुद्दा लिएर निर्वाचनमा होमिनुभयो र विजयी पनि हुनुभयो । विजयी भएसँगै जनप्रतिनिधिका रुपमा थप जिम्मेवारीसहित वडाको नेतृत्व सम्हाल्नुभयो । 

     “निर्वाचनका बेला वडावासीसँग वडाका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी थिएँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “मैले वडावासीमाझ लगेका मुद्दाप्रति विश्वास गर्नुभयो र मलाई जिम्मेवारी सुम्पनुभयो, मलाई प्राप्त जिम्मेवारी पूरा गरेरै छाड्ने दृढ सङ्कल्पसहित अगाडि बढेकी छु, मलाई विश्वास छ पूरा गरेरै छाड्ने छु ।”वडामा विशेषगरी भौतिक पूर्वाधार निर्माणअन्तर्गत सडकलाई पहिलो प्राथमिकतामा राखेको वडाध्यक्ष गुरुङले बताउनुभयो । बाटोलाई पहिलो प्राथमिकतामा राखिएको छ भने शिक्षा, स्वास्थ्य, कृषिलाई क्रमशः प्राथमिकीकरण गरेर योजना निर्माण गरिएको छ । 

     यो वडामा ग्रामीण भेग बढी भएकाले पनि गाउँगाउँमा सडकको पहुँचमार्ग पु¥याउनु आवश्यक छ, यातायातको सहज पहुँच पुग्यो भने मात्रै अन्य विकासका कार्य सञ्चालन गर्न सहज हुने अध्यक्ष गुरुङको भनाइ छ । सङ्घीय संरचना लागू भएसँगै पहिलो निर्वाचन भएकाले पनि आवश्यक नीतिनियम बनाउन र नयाँ पद्धति स्थापित गर्ने काममा बढी केन्द्रित हुनुपरेको अध्यक्ष गुरुङले बताउनुभयो । 
     
     “गाउँ कार्यपालिका तथा वडा कार्यालयमार्फत नयाँनयाँ कार्यक्रम ल्याएर मात्रै नहुने रहेछ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “समुदायस्तरबाट पनि चासो लिनु आवश्यक रहेछ, चासो लिएको खण्डमा वा दुबै पक्षको सामूहिक प्रयासबाट मात्रै सफलता हात लाग्ने रहेछन् । स्वभावैले महिला अगाडि आएर आफ्ना कुरा व्यक्त गर्न नसक्ने तथा हिच्किचाउने अवस्था अझै पनि विद्यमान छ यसलाई चिर्नका लागि महिला दिदीबहिनीहरुलाई सशक्त बनाउनका लागि पनि विशेष कार्यक्रम सञ्चालनमा रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
     
     महिला दिदीबहिनी आफ्नो मनमा लागेका कुरा भन्नै हिच्किचाउने गरेको अनुभव वडा अध्यक्ष गुरुङसँग छ । वडावासीहरुका कुरा सुन्न, महिलाका कुरा सुन्न आफू गाउँगाउँमै जाने गरेको उहाँ बताउनुहुन्छ । “हाम्रो समाजमा अझै पनि पितृसतात्मक सोँच जीवितै छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “हामी महिला भएर नेतृत्व सम्हाल्दै गर्दा त अझै पनि हामीमाथि कहिलेकाहीँ महिला भएकै कारण समाजको दृष्टिमा निर्णायक भूमिका खेल्न सक्दैनन् कि भन्ने सङ्कीर्ण सोँच राखेको देख्न अनि सुन्न पाउँछौँ ।”

     घरायसी कामधन्दामै ब्यस्त रहने र पार्टीले दिएको जिम्मेवारीलाई सहजै स्वीकार गरी पार्टीका गतिविधि तथा संगठन विस्तारमा लाग्ने अर्जुनचौपारी– ४ की जीतकुमारी चपाईंलाई वडा अध्यक्षमा उठ्छु जस्तो कहिल्यै लागेको थिएन ।अखिल नेपाल महिला सङ्घमा सक्रिय राजनीति गरेकी चपार्इं जनप्रतिनिधि हुँदा बिहान साँझ हिँडडुल गर्न गाह्रो हुन्छ जस्तो लाग्ने गरेको बताउनुहुन्छ । श्रीमान्को प्रेरणास्वरुप राजनीतिमा सक्रिय भएकी चपाईंलाई आफू राजनीतिमा आउनुको पछाडि घर परिवारको पूर्ण साथ र सहयोग रहेको वडाध्यक्ष चपाईंले बताउनुभयो । 

     “महिलाले नेतृत्व गर्दैगर्दा कानूनी प्रक्रियामा थप सक्षम हुनुपर्छ जस्तो लाग्यो”, वडा अध्यक्ष चपाईंले भन्नुभयो, “समाजमा अझै पनि पितृसतात्मक सोँच हाबी भएको देख्छु, जुन संस्कारले हामीले गर्ने निर्णय प्रक्रियाहरुमा पेल्न खोज्ने, काम गर्ने शिलशिलामा अप्ठयारो पार्र्न खोज्ने अनुभव मैले संगालेकी छु ।”

     निर्वाचनका बेला खानेपानीको समस्या रहेको रापाकोटको ठूलो दलित बस्तीमा र शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गर्नुहुन्छ वडाध्यक्ष चपाईं । उक्त ठाउँमा अहिले रु एक करोड १४ लाखको लागतमा २५० दलित बस्ती रहेको घरधुरीमा एक घर एक धाराको योजनाअन्तर्गत खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो । 
     
     वडामा विशेषगरी ग्रामीण सडक निर्माण, कच्ची सडकको स्तरोन्नति, मर्मत सुधार, सिँचाइ कुलो निर्माण तथा मर्मत, दलित बस्तीमा आरन हस्तान्तरण, पाडापाडी संरक्षण कार्यक्रम प्राथमिकताका आधारमा राखिएको वडा अध्यक्ष चपाईले बताउनुभयो । धार्मिक एवं पर्यटकीय दृष्टिले महत्व राख्ने एकानन्द गुफामा मोटरबाटो निर्माण गरिएको, वडाभित्र रहेका उर्वर जमीनमा सिँचाइ सुविधा पु¥याउन कुलो निर्माण तथा पुराना कुलाको मर्मत सम्भार गरिएको, खोला तथा खोल्सीमा पुलपुलेसा निर्माण गरी आवतजावतमा सहजता ल्याइएको उहाँले बताउनुभयो । 

     वडाभित्र अझै पनि कतिपय घरधुरीमा आर्थिक अभावकै कारण कच्ची शौचालय रहेका वा शौचालय नै नभएका घरमा पक्की शौचालय वडाले निर्माण गरिदिएको छ । “भैँसीका पाडापाडी संरक्षण नगरेकै कारण अहिले भैँसीको मूल्य वृद्धि भएको छ”, वडाध्यक्ष चपार्इंले भन्नुभयो, “हामीले पाडापाडी संरक्षणका लागि विशेष कार्यक्रम ल्याएका छौँ जसले पाडापाडी संरक्षण गर्न सघाउ पुग्ने र भैँसीको अहिले आकासिएको मूल्य घट्ने अनुमान छ ।” वडाले महिला, बालबालिकाका क्षेत्रमा पनि विशेष कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष चपाईंले बताउनुभयो । वडावासीले जुन अपेक्षा राखेर आफूलाई विजयी बनाएर नेतृत्व गर्ने अवसर दिनुभएको छ त्यसलाई शिरोधार्य गर्दै लक्ष्य प्राप्तिका लागि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्नेगरी निरन्तर अगाडि बढेको उहाँको भनाइ थियो । 

     एसएलसी परीक्षा उत्तीर्ण गरेर स्थानीय संस्थागत विद्यालयमा अध्यापन कार्य गर्दै महिला तथा बालबालिकाको मनोसामाजिक क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा कामको अनुभव सगाल्नुभएको छ केशमाया थापाले । राजनीति नगरेको तर सामाजिक कार्यमा सक्रिय भएकै कारण वडाध्यक्षको उम्मेदवार भएपछि राजनीतिमा प्रवेश गरेकी थापाले आफूलाई कोपिला नेपालमार्फत स्थानीयसँग परिचित हुन र सामाजिक काममा सक्रिय हुने अवसर मिलेको बताउनुहुन्छ ।
     
     “हालको हरिनास साविकको क्याक्मी गाविस विकट रहेकै कारण पनि केही गाउँमा विद्युत् पुगेको थिएन, यहाँका जनता अँध्यारोमा बस्न बाध्य थिए”, वडा अध्यक्ष थापाले भन्नुभयो, “मैले निर्वाचनका बेला यहाँका स्थानीयसँग गाउँलाई उज्यालो बनाउनेसहितका गाउँका जल्दोबल्दो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएँ, जनताले विश्वास गर्नुभयो र विजयी बनाउनुभयो ।”

     निर्वाचनका समयमा जनतामा माझ विद्युतीकरण गर्ने प्रतिबद्धता आफूले पूरा गरेको र अन्य समस्याका बारेमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो । वडाले विशेषगरी विद्युतीकरण, सडक, कृषि, खानेपानी, सिँचाइलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी महिला, अपाङ्गता भएका वा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोलटोलमै पुगेर शिविरमार्फत् अपाङ्गता परिचयपत्र, नागरिकता वितरण गरेको उहाँले बताउनुभयो । 

     “यहाँका युवायुवतीलाई कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न सकियोस् भनेर हामीले कृषि तथा पशुपालन कार्यक्रमका लागि बजेट धेरै विनियोजन गरेका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “कृषकलाई प्रोत्साहन दिन, बीउबिजन खरीद तथा यान्त्रिक उपकरण उपलब्ध गराउँदै आएका छौँ र उत्पादित वस्तुको बजारीकरणका लागिसमेत समन्वयकारी भूमिका खेलेका छौँ ।”स्याङ्जामा हाल तीन वडाध्यक्षसहित जिल्ला समन्वय समिति र पुतलीबजार नगरपालिकाको प्रमुखमा महिलाको नेतृत्व रहेको छ । जिल्ला समन्वय प्रमुखमा सीताकुमारी सुन्दास र पुतलीबजार नगर प्रमुखमा सीमाकुमारी क्षेत्रीले नेतृत्व गरिरहनुभएको छ । सुन्दास जिल्ला समन्वय महासङ्घको केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij