
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ । पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ । गुणका उडान गत बुधवारदेखि नै बन्द छन् । यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो ।
यद्यपि हिजोदेखि नियमित उडान गर्ने कम्पनीको भनाइ थियो । तर उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ ।
गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन् । यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij