Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

  • काठमाडौं । प्रधानमन्त्री तथा ७३औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

    images
    images
    images

    आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए ।

    यस्तो छ प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्ण पाठ :

    फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्त्वको दिन हो । आजभन्दा ठिक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवन मरणको संघर्षमार्फत् जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्त्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछु । विभिन्न आन्दोलन र सङ्घर्षका क्रममा घाइते एवं अङ्गभङ्ग हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्य लाभसहित दीर्घायुको कामना गर्दछु । निरङ्कुशतन्त्र अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सम्पूर्ण योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै न्याय, समानता र स्वतन्त्रताका पक्षमा सङ्घर्षशील स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको वलिदानीपूर्ण सङ्घर्षदेखि वर्तमानसम्म देशमा निकै ठुला क्रान्ति, आन्दोलन र सङ्घर्षहरू भएका छन् । ती सबै क्रान्ति, आन्दोलन र सङ्घर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन् । यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवाद उन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपिल गर्दछु ।

    लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामहरूको उच्चतम तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा एवं निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुन्छ । लोकतन्त्रको संस्थागत सुनिश्चितता, सङ्घीयताको गतिशील कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुन्छ । सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्त्वपूर्ण कार्यभार हाम्रासामु छ । जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्ष पूरा गर्न सकिन्छ। उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव छ ।

    संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो । देशको राजनीति र अर्थतन्त्रले सङ्कटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम् गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ ।

    अन्त्यमा, ७३ औँ प्रजातन्त्र दिवसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ फेरि एक पटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij