
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएकी छन् ।
यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक-२०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँदै यो राष्ट्रियतासँग पनि जोडिएको बताइन् । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवर्द्धन गर्न नसकेको उनको भनाइ छ ।
‘आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ । सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण छ,’ मन्त्री शर्माले भनिन् ।
सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उनले बताइन् । ‘विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेर अस्पष्टता रह्यो । हामीले जनशक्ति जोगाउन नसक्दा बाहिर जाने र त्यस्तो जनशक्ति हामीलाई चाहिँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ,’ शर्माले भनिन् ।
जनतालाई आधारभूत सेवा प्रवाहमा पनि प्रविधिको प्रयोग बढाउँदै जान आवश्यक रहेको बताउँदै शर्माले प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij