
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रस्ट धारणा नबनाउँदै दुई वटा प्रदेशमा भने सो पार्टीका सांसदहरू सत्ताकै कित्तामा उभिन पुगेका छन् ।
बागमती प्रदेशका एकीकृत समाजवादीका सात जना सांसदहरूले सोमबार सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्मकट्टेललाई समर्थन गरे भने गण्डकीका एकमात्र सांसद दीपक मनाङेले पनि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई समर्थन गरेका छन् ।
दुई प्रदेशमा सत्ता गठबन्धनलाई साथ दिएको एकीकृत समाजवादीले केन्द्र सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने मङ्गलवार मात्रै निर्णय गर्ने जनाएको छ । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद खनालले केन्द्रको सङ्केत अनुसार नै गठबन्धनको सरकारलाई समर्थन गरेको बताए ।
यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रतिनिधि सभामा बोल्ने क्रममा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने सङ्केत गरेका छन् । उनले आफ्नो पार्टी राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै छिटो-छिटो सरकार परिवर्तनको पक्षमा नरहेको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिँदै विगतको शिक्षाबाट पाठ सिकेर अघि बढ्न आग्रह समेत गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij