
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा सकिनै लाग्दा नेताहरू शक्ति बाँडफाँटका लागि सहमति जुटाउने अन्तिम प्रयासमा छन् । राष्ट्रपतिले दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।
गठबन्धनमा रहेका दलहरू बीचमा पनि कुरा मिल्न सकेको छैन । एमालेले पनि विभिन्न दलहरूसँगको छलफललाई तीव्रता दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न विभिन्न दलका नेताहरू बालकोट पुगेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटवार्ता भएको छ । त्यस्तै, ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच पनि भेट भएको छ ।
त्यस्तै, ओलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि भेटवार्ता भएको छ । उनीहरूबीच पनि नयाँ सरकार गठनकै विषयमा छलफल भएको बताइएको छ । यद्यपि अहिले भने एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायत नेताहरूबीच छलफल भइरहेको हो ।
माओवादीले आलोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको भए पनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि प्रचण्ड बालकोट पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij