Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफीन) ले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५ प्रतिशत कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ।
बिहीबार काठमाडौंमा आगामी आर्थिक वर्षको मौद्रीक नीतिका बारेमा राष्ट्र बैंकलाई दिएको सुझावका बारेमा पत्रकार सम्मेलन गर्दै परिसंघले मौजुदा सीडी रेसियोलाई ९५ प्रतिशत कायम गरि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने जनाएको हो ।
स्थानीय निकायको रकमलाई सतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने परिसंघले जनाएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले आर्जन गरेको मुनाफा वितरणको निक्र्यौल गर्ने अधिकार पूर्ण व्यवस्था अनुरुपले सम्बन्धीत संस्थाहरुलाई नै दिनुपर्ने , विप्रेषण आप्रवाहमा विशेष व्यवस्थापन गर्ने विप्रेषणको निश्चित हिस्सालाई वचत गर्न आकर्षित योजना ल्याउन पर्ने, अति आवश्यक कृषिजन्य कच्चा पदार्थबाहेक अन्य कृषिजन्य वस्तु तथा सामग्रीको आयातमा रोक, फजुल खर्च र अनावश्यक वस्तु तथा सेवाको प्रयोगलाई निरुत्साहित गर्दै वचत गर्न प्रोत्साहन गर्नु पर्ने लगायतका सुझाव पनि परिसंघले दिएको छ।
त्यस्तै,परिसंघका अध्यक्ष पवन गोल्यानले बैंक पैसा कमाउनको लागि मात्र नभएकाले बैंकका ब्याज सिंगल डिजिटमै हुनुपर्ने, राष्ट्र बैंकले विशेष गरेर उत्पादनशील क्षेत्रमा ब्याज कम गर्ने नीति ल्याउनु पर्ने, उत्पादनमुलक क्षेत्रलाई ऋण प्रवाहमा सहुलियत नदिदा आयात बढ्न सक्ने भएकाले यसप्रति राष्ट्र बैंकको ध्यान जानुपर्ने र अनावश्यक र विलासीताका वस्तुहरुको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवर्द्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij