
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा राजीनामा गरी जेल जान तयार हुनुपर्ने नेकपा एमालेका नेता लालबाबु पण्डितले बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिसँग साँठगाँठ गरी निश्चित व्यक्ति र संस्थालाई लाभ पुग्ने हिसाबले राजस्वको दरहरु परिवर्तन गरिएको छ । हामीले त्यसको विरोध गरेका छौं । यसमा पार्टीगत रुपमा प्रचण्ड र सरकारको नेतृत्वका हिसाबले शेरबहादुर देउवाको मिलेमतोमा भएको हुन सक्छ ।”
उनले संसदमा अर्थमन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने पनि बताए । उनले भने, “संसदीय प्रणालीमा प्रश्न उठेपछि जवाफ दिनुपर्छ । हामीले सीसी क्यामेरा फुटेज छानबिन गरियोस् भनेका थियौं । त्यो अहिलेसम्म हुन सकेको छैन । यहाँ गम्भीर आर्थिक चलखेल भएको छ । मन्त्रालय गैर नागरिकको प्रवेश भएको छ । पोल खुलेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, जेल पनि जानुपर्छ ।
प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ । अपराध गरेपछि सजाय पाउने हो, नगरेको भए स्पष्ट पार्ने हो । जनार्दन शर्मा जहिलेसम्म अर्थमन्त्री रहन्छन्, हामीले संसदमा उनका कार्यक्रम बहिष्कार गर्छौं । यस्तो अपराध सहन सकिँदैन ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij