
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर ३ जना नेता स्थानीय तह निर्वाचनमा लडे। करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते, विजय सुवेदी र कृष्ण थापा। यी तीनै जना नेता नेकपा एमालेका हुन्।
कागते इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धामा उत्रिए। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहपालिका पनि यही हो। कागते खनालकै पार्टीका नेता रणबहादुर राईबाट पराजित भए।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार राईले १२ हजार ४ सय ३१ मत र पराजित भएका कागतेले १० हजार ५७९ मत प्राप्त गरे। राईको जितले सांसद पदबाट राजीनामा दिएर सूर्योदय नगरपालिकाको नेतृत्व गर्ने कागतेको चाहना अधुरै रह्यो।
अर्का सांसद् विजय सुवेदीको पनि भरतपुर महानरपालिकामा हारको सम्भावना बढ्दै गएको छ। शनिबार बिहान ११ बजेको मतपरिणामलाई आधार मान्दा उनका प्रतिस्पर्धी रेणु दाहाल ५ हजार ५१८ मतले अघि छन्। रेणुले २८ हजार ६ सय ८ मत र सुवेदीले २३ हजार ९० मत प्राप्त गरेका छन्।
आधाभन्दा बढी वडाको मतगणना सकिएको छ । एमालेको ‘कोर एरिया’ भनिएको वडाबाट पनि सुवेदीलाई राम्रो मत आएन र प्रतिस्पर्धी रेणुले मतान्तर बढाउँदै लगेकी हुन्। एमालेबाटै सुवेदीलाई घात भएको र जित निकाल्न मुस्किल पर्ने चर्चा पनि चल्न थालेको छ।
पोखरा महानगरपालिकाको प्रमुख पदका प्रतिस्पर्धी रहेका कृष्ण थापा पनि जति मतगणना सकिन्छ, त्यति पछि पर्दै गएका छन्।
उनलाई पछि पार्ने प्रतिस्पर्धी हुन्, धनराज आचार्य। सत्ता गठबन्धनका उम्मेदवार आचार्यले ३२ हजार ४ सय ८० मत पाएका छन्। थापाले भने २९ हजार ४१ मत पाएका छन् । उनीहरूको मतान्तर ३ हजार ४ सय ३९ छ।
गण्डकी प्रदेश सांसदबाट राजीनामा दिएका थापालाई पोखरा महानगरको प्रमुख हुन कठिन बन्दै गएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij