
Aug 16 2025 | २०८२, साउन ३१ गते
काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै मुख्य दलहरुको हैसियत पनि जनताले छुट्याइदिएको छ । स्थानीय तहको निर्वाचनमा सधै पहिलो पार्टी बन्ने एमाले यो पटक दोस्रोमा झर्नु परेको छ । भने माओवादी तेस्रो हुँदा कांग्रेसले एमालेको रेकर्ड तोड्दै पहिलो बनेको छ ।
तर, यो निर्वाचनबाट नेकपा एमाले मधेशमा भने आफूलाई सुधार गर्दै माथि उक्लिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मधेशमा एमाले पाँचौं स्थानमा रहेको थियो । तर, यो निर्वाचनबाट भने दोस्रो पार्टीको रुपमा आफूलाई स्थापित गराउन खोजेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्ने अर्थमा ओलीले यसो भनेका हुन् । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो ।
ठीक एक महिनापछि ९ वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले मधेसमा शक्तिशाली दल भएर उदाउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने बताएका थिए ।
ओलीको उक्त अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको परिणामले सत्य भएको पुष्टि गरिदिएको छ । किनभने केही स्थानीय तहको मतगणना बाँकी छँदै मधेस प्रदेशमा एमालेले दोस्रो दल बन्ने छनक देखाएको छ ।
यसअघि २०७४ सालको निर्वाचनले एमाले १८ स्थानीय तहमा जित निकाल्दै पाँचौं दलको हैसियतमा खुम्चिएको थियो ।
निर्वाचन आयोगले अद्यावधिक गरेको शनिबार बिहान ११ बजेसम्मको विवरणलाई आधार मान्दा एमालेले अघिल्लो पटकभन्दा बढी दुई वटा स्थानीय तह जितेर २० वटा पुर्याएको छ । नौं वटा स्थानीय तहमा भने अग्रता छ । अग्रता भएकामा पनि जित भए मधेस प्रदेशमा एमालेको २९ स्थानीय तहमा जित हुनेछ ।
जनता समाजवादी पार्टीको पनि जित भएको स्थानीय तह २० वटा नै हो । तर, अग्रता सात वटा स्थानीय तहमा मात्र छ । सोही कारण एमाले दोस्रो दल हुने सम्भावना बढेको हो । जबकि, एमाले विभाजित अवस्थामा निर्वाचनमा गएको हो । प्रदेश संसद्मा एमाले फुटेर बनेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीभन्दा सानो छ ।
तर, २६ स्थानीय तह जितेर २०७४ सालमा दोस्रो दल बनेको जनता समाजवादी पार्टीलाई पछि पार्ने अवस्थामा एमाले पुगेको छ । नेकपा (माओवादी केन्द्र)ले त अघिल्लो पटक २१ स्थानीय तह जितेकोमा यस पटक १० स्थानीय तह जितेको छ ।
माओवादी आधा सङ्ख्यामै खुम्चिनु परेको छ । मधेसमा माओवादी नेता प्रभु साह एमालेमा गएपछि माओवादी खुम्चिएको कतिपयको विश्लेषण छ । अघिल्लो निर्वाचनमा चौँथो बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राष्ट्रिय जनता पार्टी) पनि पहिलेकै सङ्ख्यामा जित निकाल्ने अवस्थामा देखिएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij