Jun 29 2026 | २०८३, असार १५ गते
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याब स्थापना हुने भएको छ। खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन सुर्खेतमै ल्याब स्थापना हुने भएको हो।
सुर्खेतमै खाद्य वस्तुको गुणस्तर परीक्षण गर्ने ल्याबको स्थापना हुने भएपछि नेपालगन्ज धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मंगलबार आफ्नो तेस्रो त्रैमासिक समिक्षा कार्यक्रम गर्दै ल्याबको स्थापना गर्ने तयारी रहेको जनाएको हो।
कर्णाली प्रदेशका १० जिल्ला हेर्दै आएको कार्यालयले खाद्य बस्तुमा अखाद्य वस्तु मिसावट भए नभएको थाहा पाउन परीक्षणका लागि नेपालगन्जमा रहेको ल्याब परीक्षणका लागि नमुना पठाउदै आएको थियो।
ल्याब स्थापनाका लागि आवश्यक उपकरण सप्लायर्स कम्पनीले समयमै उपलब्ध गराइ दिएको खण्डमा आउँदो जेठ १० गतेबाट सेवा सञ्चालनमा आउने कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिए।
चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण आर्थिक वर्ष सकिनै लाग्दा भवनको काम ५० प्रतिशत पुरा नभएको प्रमुख थापाले बताए।
कार्यालयले ८ कोठाको घर भाडामा लिएर ल्याब स्थापना गर्न लागेको जनाएको छ । भवन निर्माणका सन्दर्भमा कार्यालयले ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गरिरहेको थापाको भनाई छ ।
यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले स्थापना भएदेखि हालसम्म तीन सय ६८ उद्योग तथा पसलहरूमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा एकसय २१ वटा नमुना संकलन गरिएकोमा ६ वटा नमुनामा सरकारको खाद्य मापदण्ड अनुसार गुणस्तर नभएको र हाल मापदण्ड विपरित देखिएका नमुना मध्ये ६ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा प्रक्रियामा रहेका कार्यालयले जनाएको छ ।
यस्तै, संकलित नमुनामाहरूमा चिउरा, चना, दाल, तोरीको तेल, सोया सस, भिनेगरहरू छन् । यी खाद्यवस्तुमा लेवल नराखिएको, अखाद्यवस्तु र दुषित पदार्थ प्रयोग गरेको पाइएको उल्लेख गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij