Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

'स्वदेशी वस्तुको प्रयोग देशको अर्थतन्त्रको अचुक औषधी हो'

'स्वदेशी वस्तुको प्रयोग देशको अर्थतन्त्रको अचुक औषधी हो'

  •  

    images
    images
    images

    डा. बुद्धि मल्ल

    २०७८ साल चैत्र २१ गते दिउँसो नेपाल राष्ट्र बैंकबाट बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर विभिन्न विलासी वस्तुहरुको आयतको लागि बैंकको कर्जा रोक्न तथा प्रतितपत्र जारी नगर्नको लागि मौखिक निर्देशन गरेपछि दिउँसोदेखि नै आर्थिक क्षेत्रमा एउटा गम्भीर छलफलको विषय बनेको छ । सुन, चाँदी, गाडी, गाडीका पाटपूर्जा लगायत धेरै रकम खर्च हुने र विलासीताका सामानको आयातमा कडाइ गरी विदेशी मुद्रा सञ्चिती बढाएर अर्थतन्त्रको लागि अति आवश्यकीय वस्तुहरु पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा, गाडी, औद्योगिक कच्चा पदार्थ आयातको लागि भविष्यमा वैदेशिक मुद्राको अभाव नहोस् भन्ने हेतुले यो निर्देशन दिएको हो ।

    मुद्रास्फितिको बढ्दो दर, कर्जा वृद्धिदर अनुसार निक्षेप नहुनु, कर्जा/निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि पुगेर लगानीयोग्य रकमको अभाव हुनु, व्यापार घाटा उक्लिनाले अर्थतन्त्रमा ठुलो दबाब पर्दै आएकोले नेपाल राष्ट्र बैंकले केही समयदेखि नै आयातमा कडाइ गर्दै आइरहेको थियो ।

    २०७८ पुस ५ गते नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै विभिन्न १८ वटा वस्तुको आयातमा प्रतितपत्र जारी गर्दा शत प्रतिशत नगद मार्जिन र २ वटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरी कडाई गर्दा पनि गाडी तथा अन्य वस्तुहरुको आयात नघटेको र वैदेशिक मुद्रा सञ्चितीमा अझै समस्या देखिएकोले यो कदम चालेको देखिन्छ ।

    बैंकहरुसँग लगानी योग्य रकमको अभाव, आयात अत्यधिक बढेको अवस्था, रेमिटेन्स र पर्यटनको आय नबढ्दा चालु खाता घाटा बढ्नु कारणले विदेशी मुद्राको सञ्चिती घटेर करिब सात महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्र स्थिति रहेकोले अब स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अपनाएर अर्थतन्त्रलाई सवल बनाउनुपर्छ । स्वदेशी उत्पादकहरुलाई हौसला, पुरस्कार दिने, स्वदेशी वस्तु उपभोग गर्न सचेतना कार्यक्रमहरु गर्न अब ढिलाई गर्नुहुँदैन । 

    अनुसन्धानकर्ता केन्ट, ग्रान्जिन र जोनको अनुसन्धानमा अमेरिका, क्यानाडा, पोर्चुगल, फ्रान्स र मेक्सिकोमा आयातले अर्थतन्त्रलाई नकरात्मक असर पारेर धेरै मानिसहरुको जागिर गुमेको र जसको कारण उनीहरु घरबार बिहिन हुनुपरेको पाएका थिए । 

    यस अनुसन्धानको निष्कर्षलाई आधार मान्ने हो भने स्थानीय उत्पादनको प्रयोगले आयात घटाउन मद्धत गर्दछ र जसको फलस्वरुप मानिसहरुले जागिर अनि घरबार गुमाउनु पर्दैन । स्थानीय वस्तु तथा सेवाहरुको प्रयोगले अझै थप रोजगारी सृजना गरेर देशको अर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्छ । 

    budimalla.jpg

    स्थानीय वस्तु तथा सेवाको उपभोग बढाउनको लागि बमोजिम नीतिहरु लिन सकिन्छः

    १. उत्प्रेरणात्मक नारा – स्थानीय वस्तु तथा सेवाको उपभोगले मानिसहरुको जागिर एवं घरबार बचाउन सकिन्छ, यही देशमा रोजगारी सृजना गरेर हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई बाध्य भएर विदेशिनु पर्दैन भन्ने उत्प्रेरणात्क सन्देश सहितको नारा सृजना गरेर उपभोग बढाउन सकिन्छ ।

    २. सहुलियत तथा अनुदान – स्थानीय वस्तु तथा सेवाको प्रयोग बढाई स्थानिय श्रोतबाट नै उत्पादन बढाउनको लागि विभिन्न खालका सहुलीय तथा अनुदानहरु एवं पुरस्कार, सम्मानका कार्यक्रमहरु सञ्चालन गर्ने एवं मार्गदर्शन बनाउने ।

    ३. कर र कोटा– देशको आर्थिक अवस्थामा प्रतिकूल पर्ने विभिन्न वस्तुहरुको आयातमा कर वृद्धि तथा कोटा निर्धारण गर्ने ।

    ४. मुद्राको अवमूल्यन –मुद्राको अवमूल्यन गरेमा आयत गरिने वस्तुको मूल्यवृद्धि भएर आयातमा कमि आई ब्यापार घाटामा पनि कमि आउँछ भने देशको स्थानीय उत्पादनको मूल्य विदेशी मुद्रामा सस्तो हुन गई निर्यातमा सहयोग पुग्नसक्छ तर, यसले मुद्रास्तिथी निम्त्याउने जस्ता अन्य विभिन्न समस्याहरु पनि निम्त्याउन सक्छ ।

    विभिन्न देशहरुले अर्थतन्त्रमा समस्या आउँदा देशका जनताहरुलाई कम खर्च गरेर बचत गर्न अनुरोध गरिरहेका हुन्छन् । अहिलेको परिस्थितीमा नेपालले पनि विदेशी मुद्रा खर्च हुने वस्तुहरुको सकभर कम खपत गर्नको लागि सरकारी स्तरबाट नै आब्हन गरेर बचत गर्न प्रोत्साहित गर्नुपर्छ ।

    आयात नगरी नहुने र ठुलो विदेशी मुद्रा खर्च हुने पेट्रोलियम पदार्थ, ग्याँस पनि सकभर कसरी कम खर्च गर्न सकिन्छ भनेर योजना बनाई कार्यान्वयन गर्न ढिलाई गर्नुहुँदैन । विद्युतीय सवारी साधनको अधिकतम उपयोग गराउनको लागि पूर्वाधार विकास तथा कृषि र पर्यटनको विकासको लागि जोडबलले लाग्नुपर्ने आजको आवश्यक्ता हो ।
    नेपालीहरु अझैपनि लोडसेडिङ्ग हुँदैन भनेर विश्वस्त हुन नसकेको कारणले घरमा खाना पकाउनको लागि विद्युतीय चुल्हो राख्न ढुक्क हुन सकिरहेका छैनन् । यदि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्ग हुँदैन, ढुक्क भएर विद्युतीय चुल्हो प्रयोग गर्न विश्वस्त दिलाउन सक्यो भने पनि ग्याँस आयातको विदेशी मुद्रा खर्च बचाउन सकिन्छ । विद्युतीय सवारी साधनको लागि ठाउँठाउँमा चार्जिङ्ग स्टेशन तथा अन्य पूर्वाधारहरु बनाउन सकिए पनि यसबाट ठुलो मात्रामा पेट्रोलीय पदार्थ आयातको विदेशी मुद्रा खर्च बचाउन सकिन्छ ।

    भनिन्छ, मानिस जन्मेपछि २ वटा कुरा गर्नैपर्छः १. मर्नुपर्छ र २. कर तिर्नुपर्छ । यहाँ कर भन्ने शब्दले राज्यलाई तिर्ने रकमको साथसाथै राज्यप्रतिको उत्तरदायित्वलाई समेत बुझ्नुपर्छ । हामीले खरिद गर्ने कुनै पनि विदेशी वस्तु तथा सेवाहरुको मूल्यको ठुलो हिस्साको रुपमा रकम विदेशिन्छ भन्ने कुरा बिचार गर्नुपर्छ । कुनै वस्तुको रकम सानो होला, तर प्रत्येक नेपालीले सानो रकम सम्झेर १०० रुपैयाँ मात्रै विदेशी सामान किन्यो भने करिब ३ करोड नेपालीले ३०० करोड रुपैयाँ खर्च गर्छन् भन्ने कुरा हेक्का राख्नुपर्छ । अब नेपाली उत्पादनलाई माया गर्ने उचित समय आएको छ । कसैको मुख नताकिकन, आफूबाट नै सुरु गरौ, त्यसपछि परिवारलाई गर्न लगाऔँ, त्यसपछि टोलबासीलाई, त्यसपछि  अनि देशब्यापि रुपमा । मन त नेपाली नै हो भने झै नेपाली उत्पादनहरुलाई नै उपभोग गर्ने संस्कारको विकास गर्न सके संकट उन्मुख भईरहेको देशले पार पाउन सक्छ भविष्यमा एक आत्मनिर्भर देश बनि आर्थिक विकासमा पनि फड्को मार्न सक्छ । अहिलेको अवस्थामा स्वदेशी वस्तुको प्रयोग हाम्रो देशको अर्थतन्त्रको अचुक औषधी हो ।

    डा.मल्ल बैंकर हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij