Logo

Apr 04 2025 | २०८१, चैत २२ गते

Apr 04 2025 | २०८१, चैत २२ गते

नेपाली कलाकारितामा जयनन्द लामाको पहिचान

नेपाली कलाकारितामा जयनन्द लामाको पहिचान

  • ललितपुर/ नेपाली कलकारितामा लोकप्रिय कलाकार जयनन्द लामाको बेग्लै पहिचान छ । ख्यातिप्राप्त लोकगायक जयनन्दले लामा पाँच दशकअघि गायन यात्रा सुरू गरेका थिए । उनले लोकगीत, दोहोरीगीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् । गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा व्यस्त थिए। 

    सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले। सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुन्थे उनी। फरकफरक जातजातिको बसोबास भए पनि गाउँलेबीच सांस्कृतिक एकता थियो। हरेक जात्रा पर्वमा एक भएर रमाउँथे। सांगीतिक समानता थियो गाउँमा।

    रहेनन् लोकप्रिय कलाकार लामा

    जयनन्द लामा कलाकारितामा नै हराइरहेका थिए। चाहे लोकगीत गायनमा होस् वा अभिनयमा उनको जीवन यसमै समाहित थियो। उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा अहिलेसम्म पनि चरित्र अभिनयमा सक्रिय थिए। 

    उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका थिए। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरेका थिए। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

    गाउन र नाच्न रमाइलो मान्ने जयनन्द लोकसंगीतमा आउनुको भने रमाइलो संयोग छ। भन्छन्, ‘म विशुद्ध लामा थिए। गीतसंगीत के हो खासै बुझ्दैनथे। बाह्रबिसेमै कक्षा ५ मा पढ्थे। २०२६ सालको कुरा हो। राजा महेन्द्रको जन्मोत्सवको अवसरमा देशभरमा प्रचलित भाकालाई समावेश गरेर काठमाडौंमा ठूलो कार्यक्रम हुने गर्थ्यो। विज्ञहरू १४ अञ्चल ७५ जिल्लामा पुगेर लोकभाका छानेर काठमाडौँ ल्याउँथे।

    जयनन्द लामाको छोटो भिडियो

    उनले पढ्ने स्कुलमा पनि यो खबर पुग्यो। काठमाडौंबाट लोकभाका खोज्ने मान्छे आएका छन् रे भन्ने उनले सुने। ४ बजे स्कुल छुटेर उनी दौडदै बसपार्क पुगे। काठमाडौंका मान्छे गाउँ जान बसपार्कमा भरिया खोजेर बसेका रहेछन्। संगीतकार भैरवबहादुर थापाको नेतृत्वमा सरकारी टोली बाह्रबिसे पुगेको थियो। त्यही टोलीकै भारी बोकेर जयनन्द उनीहरूसँगै सँगै हिँडे। कार्यक्रममा गीत गाए। नाचेको पनि धमिलो याद छ उनलाई।

    टोली काठमाडौं फर्कियो। टोलीले जयनन्दलाई काठमाडौँ आउन चिठी पठायो। उनले काठमाडौँ आएर गीत गाए। त्यतिबेला उनले सान्त्वना पुरस्कारस्वरूप एक हजार रुपैयाँ प्राप्त गरे। यो एक हजारको पुरस्कार करोडौंबराबरको भयो उनका लागि। सान्त्वना पुरस्कार पाएपछि उनले रेडियो नेपालमा चार वटा गीत रेकर्ड गर्ने मौका पाए।

    ‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ? ’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने।’ उनले यी बोलका गीत रेकर्ड गराए। उनी राजा महेन्द्र र वीरेन्द्रको नोटिसमा परेका थिए। दरबारमै बसेर पढ्ने मौका पाए। दरबारमै बसेर फाइन आर्टमा ब्याचलर्ससम्म अध्ययन गरे।

    गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थाले। प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए। प्रज्ञा प्रतिष्ठानको जागिरे थिए उनी। प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। नेपाल फर्केर उनी अहिलेसम्म लोकसंगीतमै सक्रिय छन्। एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो लोक स्टारको निर्णायक मण्डलमा छन् उनी।
    लोकगीत नेपालको परिचय बताउने लामा अहिलेका लोकगीत सुन्दा स्वाद नमेटिने बताउँछन्। उनका अनुसार लोकगीतले लोकका कथा बोल्नुपर्छ। रीतिरिवाज, धर्मकर्म, चाडपर्व र संस्कृतिलाई बुझाउने हुनुपर्छ। पहिले गाउँमा सुनिने लोकभाकाको मिठास अहिलेका गीतमा नपाइने गुनासो गर्छन् उनी। भन्छन्, ‘लोकगीतभन्दा पनि छाडा गीतको बिगबिगी छ अहिले। लगानी उठाउन लोकगीतको मौलिकता बेच्ने काम भइरहेको छ।’

    चलचित्रमा कमेडियन चरित्र निभाउन खप्पिस लामा लामो हाँसो हाँस्दै भन्छन्, ‘अहिले त समाचार पनि लोकलयमा गाउन थाले, कवितालाई पनि गीत बनाउन थाले। लोकगीतको मर्म खोज्ने फुर्सद र धैर्य कसैलाई छैन।’

    लोकगीतको नाममा कोठे गीत बजारमा आएको बताउँदै उनले ठेट भाकाको बास्ना नै गायब भएको गुनासो गरे। उनी भन्छन्, ‘लालबहादुर खाती, झलकमान गन्र्धव, राम थापा, पाण्डव सुनुवारहरू जीवनभर लोकसंस्कृतिको उन्नयनमा लागे। तर उनीहरूको जीवन अत्यन्तै दुःखदायी अवस्थामा बित्यो। अन्तिम अवस्थामा आर्थिक समस्यासँग जुध्नु पर्‍यो।’

    जयनन्द आफू जीवनभर लोकसंगीतको पछि लागेकोमा भने अहिले खासै खुसी छैनन्। भन्छन्, ‘व्यापारमा लागेको भए करोडपति बन्थेँ होला, राजनीतिमा लागेको भए ठूलै नेता भइन्थ्यो होला। तर लोकगीतले सर्वहारा वर्गमै सीमित बनायो।’ उमेरले ६३ वर्षको उकालो हिँड्दै गरेका लामा अहिले पनि धमाकेदार गीत गाउथे। मादल, मुर्चुंगा र तबलासँगै अकासिने उनको स्वरमा रमाउनेको संख्या प्रशस्तै छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij