Jun 10 2026 | २०८३, जेठ २७ गते
मेस्सीलाई फुटबल
पारसलाई क्रिकेट
कति सुहाएको
भन्दाभन्दै
कति बेला खेल्नै बिर्सेछु
थाहा नै भएन
पुष्करलाई साइकलको यात्रा
तेन्जिङलाई सगरमाथाको यात्रा
भन्दाभन्दै
कति बेला आफ्नै बाटो हिँड्न बिर्सेछु
थाहा नै भएन
लाग्थ्यो जिन्दगीमा धेरैँ खेल खेलेँ
तर कत्तिबेला
आफ्नै लागि खेल्न बिर्सेछु
थाहा नै भएन
एकान्तमा अचेल
सोचिरहन्छु
सुकरातका राजनीतिक बिचार
अरस्तुका चेतनाका बिचार
भब्य मान्छेका सभ्य बिचार
सोच्दासोच्दै
आफ्नै लागि कत्तिबेला सोच्नै बिर्सिएछु
थाहा नै भएन
म्याडम क्युरीको
त्यो अटुट जिम्मेवारी
नाइटिङ्गेलको
त्यो कठोर जिम्मेवारी
पढ्दा पढ्दै
अनि
जिम्मेवारीका भारी पूरा गर्दा गर्दै
पहाड भन्दा विशाल
समुन्द्र भन्दा गहिरो
ब्रह्माण्ड भन्दा फराकिला
रहर र चाहानाहरुको चाङ्
आफ्नै डायरीको पहिलो
पानामा
कत्तिबेला कोर्नै बिर्सिएछु
थाहा नै भएन
आफ्नै लागि आफ्ना
जिम्मेवारी किन भुलेँ होला?
एकान्तमा अचेल सोचिरहन्छु
मायाको चिनो ताजमहल
धरतीको माया चाँदनी
मुनाको माया मदन
सबैको प्रसंसा गर्दा गर्दै
आफ्नै माया खोज्न
किन बिर्सिएँ होला
थाहा नै भएन
मैले हिँड्न बिर्सिएँ कि
दौँडिन बिर्सिएँ कि
उफ्रेर खेल्न बिर्सिए कि
गहिरो मुद्रामा सोच्न बिर्सिएँ कि
जिम्मेवारीका पर्खाल भत्काउन बिर्सिएँ कि
मायाका ताना कस्न बिर्सिएँ कि
एकान्तमा अचेल
सोचिरहन्छु ।
© भरत खत्री ‘सान्दाइ’’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij