
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर/ प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता चैतमा हुने भएको छ । प्रतियोगिता नेपाल कराते महासंघको तत्वावधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना हुन लागेको हो । पूर्वप्रधानमन्त्री तथा नेपालको पहिलो सभामुख स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा यही चैत २४ देखि २६ गतेसम्म ललितपुरको सातदोबाटोमा हुने प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ ११ गरी २१ तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ ।
करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोलले दिएको जानकारी अनुसार प्रतियोगितामा समावेश २१ तौल समूहका पदक विजेता ८४ खेलाडी खेलाडी एसियाली खेलकुदको प्रारम्भिक छनोटमा पर्ने छन् । प्रतियोगिताका सह संयोजक विनोद महर्जनले दिएको जानकारी अनुसार ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहभागीता रहने छ । प्रतियोगितामा महिलातर्फ १० तौल समूहमा महिला १ सय जना र पुरुषतर्फ ११ तौल समूहमा पुरुष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
लोकतान्त्रिक खेलकुद संघका सदस्य रवि महर्जनको संयोजकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि ४७ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । उनी आठौं दक्षिण एसियाली खेलकुद (साग) करातेका स्वर्ण पदक विजेता समेत हुन् । टिम च्याम्पियनलाई उपाधिसहित १ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिताका मुख्य सल्लाकार मीनकृष्ण महर्जनले जानकारी दिए । त्यस्तै महिला र पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने बताइएको छ ।
नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष दावा गुरुङले राष्ट्रिय प्रतियोगितालाई एसियाली खेलकुदको प्रारम्भिक छनोटको आधार बनाइने जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद (राखेप) पूर्व कोषाध्यक्ष समेत रहेका मुख्य सल्लाहकार महर्जनले आफ्नो पृष्ठभूमि पनि करातेनै रहेकोले यो खेलको विकासका लागि आफ्नोतर्फबाट पूरा सहयोग रहने बताए ।
सम्झना ल्याबका कार्यकारी प्रमुख उर्दिप जोशीले आफूहरु करातेको विकासका लागि सहयोग गर्न सधै तयार रहने बताए । त्यस्तै स्पोर्टस् ब्रान्ड लिनिङका कार्यकारी प्रमुख राजन महर्जनले कोभिड कारण खेलाडीहरु मर्कामा परेको उल्लेख गर्दै प्रतियोगिता आयोजनाका लागि आयोजकलाई धन्यवाद दिए । उनले आफूहरु पनि कराते आयोजनामा जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे ।
जिल्ला प्रमुख डोजो ललिततुर लगनखेलका अध्यक्ष समेत रहेका आठौं र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठले प्रतियोगिताबाट खेलाडीहरुको अहिलेको अवस्थाका बारेमा जानकारी लिन सकिने बताए । एसियाली खेलकुदका लागि अन्य देश धेरै अघिबाट तयारी सुरु गरेको अवस्थामा नेपालले कुनै तयारीको सुरुवात पनि गर्न नसकेमा दुःख व्यक्त गरे । सोही अवसरमा संयोजक रवि महर्जनलाई प्रतियोगिताको सह संयोजकको जिम्मेवारीको पत्र विनोद महर्जनलाई हस्तान्तरण गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij