Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अनलाइन पत्रिका आठ अपडेट 

अनलाइन पत्रिका आठ अपडेट 

  • २१६ जना संक्रमित थपिए, २ जनाको मृत्यु
    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो । २०९ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् । अहिले सम्ममा निको हुनेको संख्या आठ लाख १२ हजार ४१९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।    

    सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, ६ जना घाइते
    सीके राउत नेतृत्वको जनमत पार्टीले गरेको चक्काजामका क्रममा धनुषामा झडप भएको छ । जनमत पार्टीका कार्यकर्ता राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले राजमार्गको अवरोध हटाउन खोज्दा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको हो । झडपका क्रममा दुई जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (एसपी) जितेन्द्रकुमार बस्नेतले बताए । 

    प्रधानमन्त्री देउवाद्वारा ३ जना केन्द्रीय सदस्यमा मनोनयन
    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । 

    सिमकोट स्वास्थ्यचौकीमा छैन सिटामोल
    अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको साया स्वास्थ्यचौकीमा अभाव भएको छ  । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या देखिएको स्थानीयवासीको गुनासो छ ।  स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीका अनुसार, औषधि अभाव हुँदा नागरिकहरुको गाली आफूहरूले खानुपर्ने अवस्था आएको बताए ।

    चाउचाउको कार्टुनभित्र ५० लाख 
    सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको चाउचाउको कार्टुनभित्र ५० लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालयको टोलीले सो रकमसहित सौर्य एयरलाइन्समै कार्यरत रेशा शाक्य पोखरेललाई पक्राउ गरेको हो । रातो रङको ब्याग चेकजाँच गर्दा लुकाइछिपाई राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र सो रकम फेला परेको प्रहरीले जनाएको छ ।

    जुवाखालबाट काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृत पक्राउ
    जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् । नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका हुन् । नगर सभापति बुढा वडाध्यक्ष समेत हुन् । पक्राउ पर्नेहरूमा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती समेत छन् । उनीहरूलाई गैरी खालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    प्रहरीको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
    सशस्त्र प्रहरी बलमा जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा निल कुमार अदै र धनकुटाका सौहार्द राई छन् । 

    चार मन्दिरमा एकैपटक चोरी 
    पूर्वी चितवनको कालिका नगरपालिका– २ वडा कार्यालय परिसरका चार मन्दिरमा एकैपटक चोरी भएको छ । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोडेर मन्दिरमा रहेको दानपेटिकामा रहेको करिब रु १० हजार बराबरको नगद समेत चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिनुभयो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij