
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष । नुवाकोटको तादी गाउँपालिका– ७ का पत्तबहादुर मैनालीको सामान्य हुलिया हो यो ।
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाडौँ आएका मैनाली एकै क्षण महाधिवेशन स्थलमा राखिएको जनयुद्धकालीन तस्विरमा टक्क अडिए ।
गलामा झुण्ड्याएको कार्ड देखाउँदै उनले भने, हो म ज्येष्ठ कम्युनिस्ट मञ्चका तर्फबाट महाधिवेशन प्रतिनिधि । असाध्यै फुर्तिका साथ उनी कुराकानी गर्न तयार भए । युवा नेताको जस्तै युवा जोश र जाँगर छ मसँग, देशमा ठोस परिवर्तन होस् र राजनीतिक स्थायित्व होस् भन्ने कामना छ, उनले भने, कम्युनिस्ट आन्दोलनलाई अझै नयाँ उचाइमा पुर्याउने धोको पनि छ ।
देशमा हालसम्म भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी पार्टी हो, यो पार्टीलाई अझै समृद्ध बनाउने धोको राखेर महाधिवेशमा सहभागी हुन आएको हुँ ।
माओवादीले पार्टीमा युवा, वयस्क र ज्येष्ठ उमेर समूहको समिश्रण गर्ने लक्ष्य राखेको छ । वृद्धको अनुभव र ज्ञान, युवाको जोश अनि वयस्कको सुझबुझपूर्ण नेतृत्वलाई एकैसाथ अगाडि बढाउने लक्ष्य राखिएको छ । पार्टीमा पहिलो पटक २० प्रतिशत युवालाई सहभागी गराउने लक्ष्य राखेको माओवादीमा अरु युवा जस्तै काम गर्न सक्छु भन्ने जोश आफूमा रहेको मैनालीको भनाइ छ । पुसको चिसोमा पनि उस्तै जाँगरका साथ कमलादीमा महाधिवेशनको फ्लेक्स अगाडि उभिएर मैनाली भन्छन्, मुलुकको मुक्ति माओवादीबाट मात्रै सम्भव छ ।
गाउँगाउँबाट राजनीतिक चेत र जागरण ल्याउने काम माओवादी जनयुद्धले गरेको बताउने मैनाली महाधिवेशनपछि माओवादी अझै इस्पातिलो भएर आउने विश्वास व्यक्त गर्छन् । जनयुद्धमा भएको बलिदानको मूल्य स्थापित गराउन माओवादी नेतृत्वले दृढताका साथ पहल गर्नुपर्ने उनको सुझाव छ ।
मैनालीले ऐतिहासिक सन्दर्भ जोड्दै भने, नेपालमा राजतन्त्रको अन्त्य गर्ने माओवादी हो, जनताको मुक्तिका लागि लड्ने पनि माओवादी नै हो, अब थप स्पष्ट एजेण्डाका साथ अगाडि बढेर विकास र समृद्धिको नेतृत्वसमेत गर्नुपर्छ ।उनले कसैले के भन्ला भन्ने नहेरिकन माओवादी अगाडि बढ्नुपर्ने बताए । देशको समग्र एजेण्डा माओवादीको भए पनि न खासरुपमा नेतृत्व गर्न नपाउँदा कताकता हराए जस्तो भए पनि पार्टीले आफ्नो धरातल सम्झिए अझै पनि केही बिग्रिनसकेको उनको भनाइ छ ।
नेताहरुलाई जनताका बीचमा जान, शहीद, बेपत्ता, घाइतेको अवस्था बुझ्न तथा गरिखाने तल्ला वर्गको पक्षमा उभिन मैनाली सुझाव दिन्छन् । म यो उमेरमा त केही हुन्छ भनेर लागेको छु भने नेताहरुले यसमा ध्यान दिनु पर्दैन, उनले भने, नीति, कार्यक्रम र स्पष्ट एजेण्डाका साथ अगाडि बढे असफलता भन्ने शब्द नै शब्दकोषमा भेटिन्न ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij