
Jun 26 2025 | २०८२, असार १२ गते
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, ‘खोपमा राजनीति नगर्नुस् । पार्टीभन्दा पहिला जनता हो । जनतालाई ध्यान दिनुस् ।’
ललितपुर । जावलाखेल चोकको पुरानो वडा कार्यालय हो ललितपुर महानगरपालिका वडा नं. ४ को खोप केन्द्र । महानगरपालिकाको खोप तालिका अनुसार आज खोप दिइने कार्यक्रम हो । खोप लगाउन खोप केन्द्रमा निकै भीडभाड । वडा कार्यालयले व्यवस्थापनमा चुस्तता देखाउन नसकेपछि खोप केन्द्रमा एक्कासी खोप लगाउने कार्यक्रम रोकियो ।
दिउँसो १२ बजेको घाममा खोप लगाउनेहरुको भीडभाड सम्हाल्न कठिन भइसकेको थियो । वडा ४ का वडाध्यक्ष नारायण केसीले खोप अपर्याप्त भएको हुनाले खोप रोकिएको बताए । तर यता महानगरपालिकाको स्वास्थ्य शाखाले खोप पर्याप्त उपलब्ध गराएको दावी गरे ।
यसैबीच, वडा कार्यालयका कर्मचारी स्रोतका अनुसार पदाधिकारीका आसेपासेलाई खोपको व्यवस्थामा तालमेल नमिलेपछि खोप लगाउन रोकिएको दावी गर्र्दै भने, ‘पदाधिकारीहरुको हालीमुहाली र उमेर नपुगेकालाई खोपको व्यवस्था हावी हुँदा रोकिएको हो ।’
खोप केन्द्रमा खोप लगाउनेहरुको होहल्ला बढिरहँदा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल हुत्तिएर खोप केन्द्रभित्र पसे । त्यहाँका सबै कर्मचारीहरुसँग सोधपुछ गरे । अर्यालले भने, ‘जनतालाई राम्रोसँग खोपको व्यवस्था मिलाउनुस्, खोप अपर्याप्त भए म मेयर साबसँग छलफल गर्छु ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृतले त्यहाँ देखिएका वडाध्यक्ष, प्रहरी र सम्बन्धित पक्षसँग कुरा गर्दै भने, ‘जनतालाई घाममा नसुकाउनुस्, खोप लगाउन शुरु गर्नुस् ।’ अर्यालले जाँदाजाँदै भने, ‘खोपमा राजनीति नगर्नुस्, पार्टीभन्दा पहिला जनता हो । जनतालाई ध्यान दिनुस् ।’
अर्याल निस्किएको केहीबेरमा प्रहरी परिसर ललितपुरका डिएसपी शरद थापाको कमाण्डमा सुरक्षाकर्मी आइपुगे । खोप केन्द्रमा प्रहरीको सक्रिय उपस्थिती भएपछि खोप लगाउन प्रारम्भ भयो । प्रहरीकै बीचमा आइपुगेका ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुको नगर बलले हुलमुललाई व्यवस्थापन गर्न सघाएको थियो । यता वडाध्यक्ष केसीले भन्दै थिए, ‘व्यवस्थापनमा हाम्रो सक्रियता हुँदाहुँदै पनि केही सदस्यहरुको मनोमानीले यस्तो अवस्था आयो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij