
Jun 28 2025 | २०८२, असार १४ गते
काठमाडौं । पत्रकारिता जगतमा सम्भवतः संसारकै सबैभन्दा चर्चित र विवादास्पद तस्बिर हो यो । कोरोना आतंकमा संवेदनाको व्यापार गर्ने युटुबर र पत्रकारहरूले यस तस्बिरलाई ध्यानसँग हेर्नु । सन् १९९३ मा सुडानको आयोदमा अनिकालग्रस्त एउटा बालक आधा माइल टाढा युएन खाद्य केन्द्रमा पुग्न नसकेर भोकले मध्य घाममा ढलेको थियो र बालक मर्ला र खाउँला भनेर पछाडि एउटा गिद्ध ढुकिरहेको थियो । दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले पत्रकारिता जगतको त्यस अनुपम क्षणलाई आफ्नो क्यामेरामा कैद गरे र गिद्धलाई धपाइदिए ।
जहाज छुट्ने पीरले बालकलाई खाद्य केन्द्रसम्म नपुर्याई हतार हतार हिँडे । २६ मार्च १९९३ मा न्युयोर्क टाइम्समा छापिएपछि तस्बिरले तहल्का मच्चायो । संसारभरिका पाठकले त्यस बालकको नियतिबारे सोधखोज गरे जुन कुरा स्वयं कार्टरलाई थाहा थिएन । टिप्पणी कतिसम्म भयो भने, ‘त्यहाँ दुइटा गिद्ध थिए, एक तस्बिरमा देखिने गिद्ध र अर्का तस्बिरमा नदेखिने गिद्ध जो स्वयं फोटो पत्रकार थिए’ । तस्बिरले सन् १९९४ को फिचर फोटोग्राफीमा पुलिट्जर पुरस्कार पायो । पुरस्कार पाएको चार महिनामा पश्चाताप र अवसादमा डुबेर ३३ वर्षको रहरलाग्दो उमेरमा कार्टरले आत्महत्या गरे । यस्तो स्थिति संसारमा फेरि कहिल्यै नआओस्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij