
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । शुक्रबार उद्घाटन गरिएको ग्वार्को ओभरपासमा बत्ती जडानको काम भने बाँकी छ । यसअघि कलंकीको अन्डरपासमा पनि निर्माण सम्पन्नको केही समयपछि मात्र लाइट राखिएको थियो ।
ओभरपासमा रातिको समयमा यात्रा गर्दा लाइट नभएको कारणले जोखिम हुने भनेर कुरा उठिरहेको छ । सडक विभाकाका प्रवक्ता ई. प्रवातकुमार झाले ठेकेदारसँग बत्ती जडानको सम्झौता नभएको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘निर्माण सकिएपछि मात्रै लाइट राख्ने काम हुने हो । अब पोल हालेर लाइट राख्ने हो । त्यसका लागि विद्युत् प्राधिकरणसँग छलफल भइरहेको छ । छिट्टै ओभरपासमा लाइट राखिने छ ।’
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारी लाइट राख्ने विषयमा छलफल थालिएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ओभरपास परियोजना सञ्चालन गरेको हो । ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६.२ मिटर छ ।
करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएकोमा काम सक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij