
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरुलाई राजीनामा नसदिन निर्देशन दिएका छन् । सहकर्मी मन्त्रीहरुले धमाधम साथ छोड्न थालेपछि ओलीले आफ्ना मन्त्रीहरुलाई आफ्नो साथमै रहन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले अझै पनि हिजो भएको घटनामा घुसपैठ भएको आफ्नो अडान कायमै राखेको स्रोतले बतायो । उनले सोमबार भएको प्रदर्शनलाई हिंसात्मक बनाउन बाहिरी तत्वले घुसपिैठ गरेको र त्यसमा संलग्नहरुलाई छानबिनपछि कारवाही गर्ने भन्दै आफ्ना मन्त्रीहरुलाई आश्वस्त बनाउन खोजेको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले आन्दोलन चर्किएर धेरै उग्र भएमा आफू भाग्ने विकल्पको विषयमा समेत छलफल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।
प्रदर्शनकारीले संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको घरमा आगजनी र तोडफोड गरिसकेको तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवासतर्फ बढिरहेको अवस्थामा प्रधानमन्त्रीले आफू समेत असुरक्षित भएको महसुस गरेका हुन् ।
सरकारले सोमबार साँझ प्रदर्शन हिंसात्मक हुनुको कारणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यो समितिलाई १५ दिनको समय दिएको छ । तर, मंगलबार कर्फ्यू लगाउँदा पनि प्रदर्शन जारी रहेपछि यो समितिले छानबिन गर्नै नसक्ने र समितिको रिपोर्ट आउने बेलासम्म देशमा नेताहरु सुरक्षित रहनै नसक्ने अवस्था आउन सक्नेप्रति ओली सशंकित छन् । स्रोतका अनुसार ओली स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमार्फत दुबई जाने तयारी गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij