Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १- नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको समयमा दुवै देशबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको छ । दुवै देशले गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेका थिएनन् । नेपाल र बंगलादेशबीच अहिलेसम्म भएका २५ खेलमा बराबरीमा सकिएको यो चौथो खेल हो । जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल जितेको छ । फिफा वरियतामा नेपाल १७६औं स्थानमा छ भने बंगलादेश १८४औं स्थानमा रहेको छ । अब नेपाल र बंगलादेशबीचको दोस्रो खेल सेप्टेम्बर ९ मा हुने तालिका रहेको छ ।

    images

    २- नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान कास्कीबाट पुनः शुरू गरेको छ । शनिबार कास्कीको रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरेका हुन् । प्रचण्डले सहिदको त्याग र तपस्याकै कारणले संविधान र गणतन्त्र प्राप्त भएको बताउदै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न खोजे पनि तेस्रो पटक प्रधानमन्त्री हुँदा मात्र त्यो कार्य सम्पन्न गर्न सफल भएको बताएका थिए । गत जेठ २ गते बैतडीको पाटनबाट शुरू भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरा पुगेर स्थगित भएको थियो। त्यसपछि साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान शुरू गर्ने निर्णय गरे अनुसार अभियान शुरु गरेको छ ।

    ३- नेकपा एमालेको गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन आज समूहगत छलफल शुरु भएको छ । यसअघि बाँकी रहेका तीन दस्तावेज प्रस्तुत भएपछि अहिले समुहगत छलफल जारी रहेको छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमाथि समुहगत रुपमा प्रतिनिधिहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । प्रतिनिधिहरुलाई महाधिवेशनमा प्रस्तुत गरिएका दस्तावेजमा मात्र छलफल गर्न निर्देशन दिइएको भएपनि प्रतिनिधिहरुले विद्या भण्डारीको सदस्यताको विषय पनि उठाएका छन् । उद्घाटन सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेसनमा प्रस्तुत भएका विषय बाहेक अन्य विषय छलफल नहुने स्पष्ट गर्दै भण्डारीको सदस्यता विषय छलफल नहुने संकेत गरेका थिए । तर प्रतिनिधिहरुले अध्यक्ष ओलीको निर्देशनलाई अवज्ञा गर्दै भण्डारीको सदस्यताको विषयमा कुरा उठाइरहेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी गराएका छन् । प्रतिनिधिलाई छलफलका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाको आधारमा १० समूहमा बाँडिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । महाधिवेशनमा आज समुहगत छलफल सकेर समूहका नेताले आइतबार प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ । समूहगत रूपमा प्रतिवेदनमाथि आएका सुझावलाई अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाउने तयारी गरिएको गौतमले बताए । आइतबार महाधिवेशन सक्नु अघि एमालेको केन्द्रीय निर्वाचन आयोगको निर्वाचन समेत गर्ने तालिका रहेको छ ।

    ४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई चेतावनी दिएका छन् ।  ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरूले अमेरिकी नौसेना जहाजहरूमाथि उडान गरेमा गोली हानेर खसाल्ने चेतावनी दिएका हुन् । भेनेजुएलाले दक्षिण अमेरिका नजिकै अमेरिकी जहाज नजिक लगातार दुई दिनसम्म सैन्य विमानहरू उडाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । त्यसपछि ट्रम्पको यस्तो बयान आएको हो । भेनेजुएलाबाट आउँदै गरेको जहाजमा लागूपदार्थ ल्याइँदै गरेको केही रिपोर्ट आएपछि अमेरिकी सेनाले आक्रमण गरेपछि सो जहाजमा रहेका ११ जनाको मृत्यु भएपछि दुवै देशबीच तनाव बढेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले आफ्नो देशमाथि लगाएको आरोप सही नभएको बताएका छन् । ह्वाइट हाउसले शुक्रबार अमेरिकाले प्युर्टो रिकोमा १० वटा एफ-३५ लडाकु विमानहरू पठाउने बताएको छ । ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहेका छन् । अगस्टमा, अमेरिकी राष्ट्रपतिले भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न नेतृत्व गर्ने जानकारीको लागि पुरस्कार दोब्बर गरेर ५ करोड डलर पुर्‍याएका थिए । उनले मादुरोलाई 'विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्कर मध्ये एक' भएको आरोप लगाएका थिए ।

    images

    ५- पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत दोस्रो दिन मधेश युनाइटेड, कर्णाली यशविस र ललितपुर क्विन्स विजयी भएका छन् । अब आइतबार लिगका दुई खेल हुदैछन् । आइबार पहिलो खेलकाठमाडौँ स्पाइकर्स र मधेश युनाइटेड खेल्ने छन् भने दोस्रो खेलमा लुम्बिनी लाभास र पोखरा निन्जाज खेल्ने छन् ।

    ६- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले भारतीय ए टोलीको घोषणा गरेको छ । यस टोलीको कप्तानी स्टार ब्याट्सम्यान श्रेयस अय्यरलाई सुम्पिएको छ भने विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेललाई उपकप्तान बनाइएको छ । भारतीय ए टोलीले अष्ट्रेलिया ए विरुद्ध चार दिने दुई खेल खेल्ने तालिका रहेको छ । पहिलो खेल सेप्टेम्बर १६ बाट खेलिनेछ भने दोस्रो खेल सेप्टेम्बर २३ बाट सुरु हुनेछ । दुवै खेल लखनऊमा हुने छन् । पहिलो खेल सकिएपछि, केएल राहुल र मोहम्मद सामीलाई टोलीमा  समावेश गरिने बोर्डले जनाएको छ । सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप २०२५ को लागि छनोट गरिएको टोलीमा केएल र सिराज छैनन् । श्रेयसलाई एसिया कप टोलीमा बेवास्ता गरिएपछि प्रश्नहरू उठिरहेका थिए। राम्रो फर्मको बाबजुद पनि उनी टोलीमा पर्न सकेनन् । अय्यरले आईपीएल २०२५ मा ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १७ इनिङमा ६०४ रन बनाएका थिए भने उनको औसत ५०.३३ र स्ट्राइक रेट १७५.०७ थियो । दुई चार दिने खेलपछि, कानपुरमा भारतीय ए र अष्ट्रेलिया ए बीच तीन एकदिवसीय खेलको सिरिज पनि खेलिने बताइएको छ । यसका लागि बीसीसीआईले छुट्टाछुट्टै टोली घोषणा गर्ने बताएको छ । भारतीय ए टिम- श्रेयस अय्यर (कप्तान), ध्रुव जुरेल (उप-कप्तान र विकेटकिपर), एन जगदीसन (विकेटकिपर), अभिमन्यु ईश्वरन, साई सुदर्शन, , देवदत्त पडिक्कल, हर्ष दुबे, आयुष बडोनी, नितीश कुमार रेड्डी, तनुश कोटियन, प्रसिद्ध कृष्ण, गुरनूर ब्रार, खलील अहमद, मानव सुथार र यश ठाकुर ।

    ७- काठमाडौंको बसन्तपुरमा शनिबार भइरहेको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका उच्चपदस्थ पदाधिकारीहरूले अवलोकन गरेका छन् । शनिबार दिउँसो बसन्तपुर पुगेर राष्ट्रपतिसहितले इन्द्रजात्रा अवलोकन गरेका हुन् ।  इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले स्वागत गरेका थिए । तर, प्रधानमन्त्री ओलीको स्वागतमा भने देखिएनन् । अघिल्लो वर्षको इन्द्रजात्रामा अनुपस्थित रहेका मेयर बालेन यसपटक भने उपस्थित देखिएका छन् ।  वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    ८- प्रधानसेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा  प्रधानसेनापति सिग्देलले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी सिग्देलले मकवानपुरको चनवन स्थित श्री नम्बर ७ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।

    ९- नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय पछि अहिले यो क्रमश कार्यान्वयनको क्रममा रहेको छ । बिहीबार सरकारको निर्देशनपछि अहिलेसम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएप जस्ता चर्चित सामाजिक सञ्जाल नेपलमा निष्क्रिय भएका छन् । चर्चित सामाजिक सञ्जाल बन्द भएपछि अहिले वैकल्पिक उपाय खोजी भैरहेको बेला डिएनएस परिवर्तन गरेर क्लाउडफेयर र गुगलको डिएनएस प्रयोग गरेर सामाजिक सञ्जाल चलाईरहेको देखिएको छ । तर अब सरकारले यसमा पनि कडाई गर्न शुरु गरेको छ । इन्टरनेट सेवा प्रदायकले डिएनएस परिवर्तन गरेर पनि नचल्ने बनाउन शुरु गरेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले हाल प्रतिबन्धका बाबजुत सामाजिक सञ्जाल चलाइरहेको डिएनएस ठेगानामा पनि निष्क्रिय गर्न शुरु गरेका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि नेपालमा भीपीएन र डीएनएस सेटिङ परिवर्तन गरेर चलाइरहेकोमा अब त्यसमा क्रमश: ति आइपी ठेगाना पत्ता लगाउदै बन्द गर्न शुरु गरिएको छ ।

    १०- भारतको पञ्जाबका मुख्यमन्त्री भगवन्त मान अस्पताल भर्ना भएका छन् । मन्त्री हरपाल सिंह चीमाका अनुसार मुख्यमन्त्री मान केहि दिन देखि अस्वस्थ रहेको र गएरातीदेखि अस्पताल भर्ना भएका हुन् । मन्त्री हरपाल सिंहले भने- 'आज हामीले उनलाई भेट्यौं, उनी स्वस्थ छन्। डाक्टरहरूले उनलाई थप दुई दिन आराम गर्न सल्लाह दिएका छन्।' मुख्यमन्त्री भगवन्त मानलाई शुक्रबार साँझ मोहालीको एक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनले थकान र मुटुको धड्कन सुस्त भएको गुनासो गरेपाची भर्ना गरेको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । मुख्यमन्त्रीले पञ्जाब र जनताको अवस्थाको बारेमा कुरा गरेका थिए । पञ्जावमा अहिले बाढीका कारण कैयौंको ज्यान गएको छ भने करोडौंको बाली नष्ट भएको छ ।

    ११- संघीय संसदको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा कृतिम बौद्धिकता (एआई)को उपयोगले कार्यसम्पादनलाई सहज र पारदर्शी बनाउन सकिनेबारे हामीले अध्ययन गरिरहेको बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिवार ललितपुरमा आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८२ मा मन्तव्य राख्नुहुँदै सभामुख घिमिरेले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसन मार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुन सक्छ भन्नेमा जोड दिए । उनले भने- 'एआईले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्छ, नेपालको सन्दर्भमा पनि ए.आई. ले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुईमत छैन, जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिन्छ ।'

    १२- उरुग्वेका फुटबलर लुइस स्वरेजलाई ६ खेलको प्रतिबन्ध लगाइएको छ ।  लिग कप २०२५ को फाइनलमा इन्टर मियामी ३-० ले हार बेहोरेपछि स्वरेजले सियाटल साउन्डर्सका अधिकारीलाई थुकेको आरोपमा उनलाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । यो निलम्बन अर्को वर्षको लिग कपका लागि लागू हुने बताइएको छ, यद्यपि मेजर लिग सकर (एमएलएस) ले थप सजाय दिने अधिकार सुरक्षित रहेको छ । स्वरेजले घटनापछि सामाजिक सञ्जालमार्फत आफ्नो कार्यको लागि माफी मागेका छन् । उनले घटना ठूलो तनाव र निराशाको क्षणमा भएको बताएका छन् । स्वरेजलाई खेलबाट प्रतिबन्ध लगाइएको यो पहिलो पटक होइन । स्वरेजलाई उनको खराब व्यबहारका कारण पटक पटक प्रतिबन्ध लगाइएको छ । उनी लिभरपुलबाट खेलिरहेको समयमा सन् २०११-१२ सिजनको खेलमा स्वरेजले म्यानचेस्टर युनाइटेडका प्याट्रिस एभ्रालाई जातीय दुर्व्यवहार गरेकोमा दोषी पाइएपछि आठ खेलको प्रतिबन्ध र ४० हजार जरिवाना गरिएको थियो । त्यस्तै स्वरेज २०१४ को फिफा विश्वकपमा पनि विवादमा परेका थिए । उरुग्वेले समूह चरणको एक महत्त्वपूर्ण खेलमा इटालीको सामना गरिरहेको खेलमा स्वरेजले इटालीका डिफेन्डर जियोर्जियो चिएलिनीलाई काँधमा टोकेका थिए र त्यसपछि मैदानमा गएर अनुहारमा प्रहार गरेका थिए । स्वरेजलाई त्यति बेला कुनै कार्ड दिएन र उरुग्वेले सो खेल १-० ले जितेर राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेको थियो । यद्यपि, पछि उनलाई नौ खेलको अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइयो र चार महिनाको लागि सबै फुटबल गतिविधिहरूबाट निलम्बन गरियो ।  साथै उनलाई करिब एक लाख २५ हजार डलर जरिवाना गरिएको थियो ।

    १३- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको अमेरिका भ्रमण स्थगित गरेका छन् । मिडिया रिपोर्टका अनुसार सेप्टेम्बरको अन्त्यतिर हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन मोदी अमेरिका नजाने भएका हुन् । भारतीय मिडियाहरुले मोदीको स्थानमा विदेशमन्त्री एस जयशंकरले भारतको प्रतिनिधित्व गर्न सक्ने उल्लेख गरेका छन् । महासभाका लागि जारी गरिएको वक्ताहरूको अस्थायी सूची अनुसार, संयुक्त राष्ट्र संघको वार्षिक उच्चस्तरीय सत्रमा सामान्य बहसलाई सम्बोधन गर्ने सूचीमा मोदीको नाम उल्लेख छैन । संयुक्त राष्ट्र संघको ८०औं महासभा सेप्टेम्बर ९ मा सुरु हुदैछ । उच्चस्तरीय सामान्य बहस सेप्टेम्बर २३ देखि २९ सम्म चल्नेछ, परम्परागत रूपमा ब्राजिल यस सत्रको पहिलो वक्ता हुनेछ, त्यसपछि अमेरिका रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २३ मा विश्व नेताहरूलाई सम्बोधन गर्ने सूची रहेको छ । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा संयुक्त राष्ट्र संघको सत्रमा यो उनको पहिलो सम्बोधन हुनेछ । यसअघि जुलाईमा जारी गरिएको वक्ताहरूको अघिल्लो अस्थायी सूची अनुसार, मोदीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने उल्लेख थियो तर अहिले मोदीको नाम हटाइएको छ । मोदी राष्ट्र संघको सभामा नजाने निर्णयलाई पछिल्लो समय अमेरिका र भारतबीच जारी कर तनावसँग जोडेर हेरिएको छ । अमेरिकाले भारतमाथि५० प्रतिशत कर लगाएपछि दुवै देशको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ ।

    १४- टेस्लाका प्रमुख एलन मस्कले एक ट्रिलियन डलरभन्दा बढीको तलब प्याकेज पाउने भएका छन् । तर यसका लागि केही सर्तहरू राखिएको छ । विद्युतीय कार कम्पनी टेस्लाको बोर्डले दिएको प्रस्ताव अनुसार, उनले यो प्याकेज तब मात्र पाउनेछन् जब उनी आगामी दश वर्षमा कम्पनीको लागि केही धेरै महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनेछन् । यो प्याकेज प्राप्त गर्न, मस्कले टेस्लाको मूल्य आठ गुणा बढाउनुपर्नेछ, १० लाख कृत्रिम बुद्धिमत्ता रोबोटहरू बेच्नुपर्नेछ, १.२ करोड टेस्ला कारहरू बेच्नुपर्नेछ र अन्य धेरै कठिन लक्ष्यहरू प्राप्त गर्नुपर्ने शर्त राखिएको छ । यस समयमा, मस्कले न त तलब पाउनेछन् न त बोनस । बरु, उनलाई शेयर दिइनेछ, जुन सबै लक्ष्यहरू प्राप्त गर्दा १ ट्रिलियन डलरसम्मको हुनेछ । कम्पनीको बोर्डले लगानीकर्ताहरूलाई यो प्रस्तावको पक्षमा मतदान गर्न अपील गरेको छ । टेस्लाका अध्यक्ष रोबिन डेनहोमले आज असम्भव जस्तो देखिने वृद्धि नयाँ विचारहरू, राम्रो प्रविधि र उत्कृष्ट नवीनता क्षमताले हासिल गर्न सकिने बताएका छन् । गत महिना मस्कलाई २९ अर्ब डलरको शेयर प्रदान गरिएको थियो, जसमध्ये ५० अर्ब डलरको उनको पहिलो पुरस्कार अमेरिकी अदालतले शेयरधारकहरूप्रति अन्यायपूर्ण भएको भन्दै खारेज गरेको थियो । टेस्लाको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार, बिक्री एक दशकमा सबैभन्दा तीव्र दरमा घटिरहेको छ, जुन केही विज्ञहरूले मस्कको व्यक्तिगत छविका कारण भएको बताएका छन् ।

    १५- शुक्रबार रिलिज भएको बलिवुड अभिनेता टाइगर श्राफको 'बागी' सिरिजको चौथो फिल्मले बक्स अफिसमा औसत शुरुवात गरेको छ । फिल्म बागी- ४ मा संजय दत्त नकारात्मक भूमिकामा देखिएका छन् । फिल्ममा टाइगर र संजय दत्त दुवैलाई जबरदस्त एक्सन अवतारमा देखाइएको छ । ए. हर्ष निर्देशित फिल्म बागी- ४ ले घरेलु बक्स अफिसमा पहिलो दिन १२ करोड कमाएको छ । यस फिल्मको बजेट लगभग २०० करोड रहेको बताइएको छ । बजेट अनुसार, फिल्मको पहिलो दिनको कमाईलाई औसत मान्न सकिन्छ । बागी सिरिजको पहिलो फिल्म २०१६ मा रिलिज भएको थियो । जब साजिद नाडियाडवालाले यो फिल्म ल्याए, दर्शकले यसलाई धेरै मन पराएका थिए । यसपछि उनले थप दुई फिल्म ल्याए । दुवै फिल्मले दर्शकको अपेक्षा पूरा गरे । पछिल्ला तीन फिल्मसँग तुलना गर्दा पनि बागी ४ को शुरुवाती कमाई सबैभन्दा कम देखिएको छ । टाइगरका पछिल्ला तीन फिल्म बडे मियाँ छोटे मियाँ, गणपत (भाग १) र हिरोपन्ती २ फ्लप भएका थिए । त्यस्तै चौथो फिल्म बागी- ३ हिट भएको थियो । त्यस्तै २०१९ मा रिलिज भएको उनको फिल्म वार ले पहिलो दिन ५३ करोड कमाई गरेको थियो । यसमा ऋतिक रोशन मुख्य भूमिकामा थिए । फिल्म बागी- ४ मार्फत पर्दामा बलियो पुनरागमन गरे पनि आगामी दिनमा बक्स अफिसमा कस्तो कमाई गर्छ भन्नेले फिल्मको भविष्य निर्धारण गर्ने छ । फिल्ममा सोनम बाजवा, हरनाज कौर सन्धु, श्रेयस तलपदे, सौरभ सचदेवा, उपेन्द्र लिमये र सुदेश लाहिरीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

    १६- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आइतबार बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरि बोलाइएको छ । सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    १७- सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ । प्ले स्टोरको फ्रि एपको सूचीमा भाइबर शिर्ष स्थानमा आएको हो । यस अघि भाइबर शिर्ष ५० मा पनि थिएन । म्यासेन्जर, ह्वाट्सएपसहित २६ सामाजिक सञ्जाल क्रमश: बन्द हुदै गएपछि पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले विशेष गरि भिडियो कुराकानीका लागि भाइबर धेरै डाउनलोड गरेपछि शिर्ष स्थानमा आएको हो । एन्ड्रोइडको फ्री एपको सूचीमा भाइबरपछि च्याटजिपिटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा इमो, कल एप, ह्वाट्सएप, क्यापकट क्रमश तेस्रो चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् । त्यस्तै नेपालमा दर्ता रहेको टिकटक फ्री एप सूचीमा सातौं स्थानमा छ भने राइड सेयर एप यांगो आठौँ स्थानमा छ । त्यसैगरी म्यासेन्जर नवौं र इन्स्टाग्राम दशौँ स्थानमा रहेको छ ।

    १८- ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार रहेको गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएको घटनापछि सडक अवरुद्ध गरेका थिए । मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेर विरोध गरेका थिए । प्रहरीका अनुसार घाइते बालिकाको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ । ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशनतर्फ गइरहेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले हरिसिद्धी मावि अगाडि बालिकालाई ठक्कर दिएको थियो । स्थानीयले ट्राफिक प्रहरीले मन्त्री सवार गाडीलाई नरोकी सहजै जान दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कानुन सबैलाई बराबर हुनुपर्ने भन्दै सडक अवरुद्ध गरेका छन् ।

    १९- नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म पुर्‍याइनेछ । ट्रफी टूर आजदेखि शुरु गरेर कार्तिक २३ गतेसम्म जारी रहने क्यानले जनाएको छ ।  दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

    २०- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।  यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij