
May 08 2025 | २०८२, वैशाख २५ गते
हुम्ला । हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् ।
हिउँबिना हुम्लीको जीवन चल्दैन । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुशी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत पनि भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुने गर्दछ ।
सिमकोट गाउँपालिका–५ की बदुमा रावत भन्नुहुन्छ्, “हिउँ पर्नु हाम्रा लागि शुभ सङ्केत पनि हो ।” हिमपात हुँदा कृषि, वन, वातावरण तथा सामाजिक जनजीवनमा समेत सकारात्मक प्रभाव पार्ने नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका पूर्वअध्यक्ष कर्ण रोकाया बताउनुहुन्छ । पहिला–पहिला प्रत्येक वर्ष पाँचदेखि १० फिटसम्म हिमपात सजिलै हुन्थ्यो । जलवायु परिवर्तनका कारण केही वर्षदेखि कम हिमपात हुन थालेपछि स्थानीयवासी चिन्तित हुँदै गएका छन् । भदौ महिनादेखि पानी नपर्दा यहाँको खोलानालामा पानी सुक्दै गई खेतीपातीमा प्रभाव परेको थियो ।
पुुसको अन्तिम साता हिमपात हुँदा किसानको मुहारमा खुशी छाएको छ । सिमकोट गाउँपालिका–३ का ज्येष्ठ नागरिक छिरिङ लामा सुनाउनुहुन्छ,“समयमै हिउँ प¥यो । अब खेती राम्रो हुन्छ ।” समयमै हिउँ नपर्दा विभिन्न प्रकारको रोगव्याधि पनि फैलिन्छ । हिउँ जडीबुटीका लागि पनि अत्यावश्यक हुने उहाँको भनाइ छ । हिउँ जीवन धान्न हिउँ नभई नहुने भएपनि बुढाबुढी, बालबालिका र रोगीका लागि भने हिउँपर्नु राम्रो मानिंदैन । स्थानीय तहले हिमपातबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन सूचना पनि जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij