
May 02 2025 | २०८२, वैशाख १९ गते
मजुङ । यस वर्ष जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानले ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५÷६६ पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ ।
मह उत्पादन राम्रो भएपछि मौरीपालक किसान खुशी भएका छन् । प्रतिकिलो रु साढे ८०० देखि ९०० मा मह बिक्री वितरण गर्दै आइरहेका छन् । जिल्लामा उत्पादन गरिएको मह काठमाडौँ, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै शहर बजारमा खपत हुँदै आएको किसानको भनाइ छ ।
गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो भएको, चरण क्षेत्र पर्याप्त भएको, आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन वृद्धि भएको बेँसीशहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले बताउनुभयो । उहाँले गत वर्ष साढे आठ क्वीन्टल उत्पादन गर्नु भएको थियो भने यस वर्ष त्यसमा आधा क्वीन्टल मह उत्पादनमा वृद्धि भयो । ‘‘डेढ लाख मौरी घारबाट यस वर्ष नौ क्वीन्टल मह उत्पादन भएको छ’’, उहाँले भन्नुभयो । उहाँले यतिका मह उत्पादन गरेर यस वर्ष रु आठ लाख १० हजार आम्दानी गर्नुभएको छ ।
सुन्दरबजार नगरपालिका–५ तार्कुका मौरीपालक किसान बिक्रम गुरुङले गत वर्षभन्दा यस वर्ष करीब दुई क्वीन्टल मह उत्पादन गर्नुभएको भने यस वर्ष करीब पाँच क्वीन्टल मह उत्पादन गरेको बताउनुभयो । गत वर्षभन्दा यस वर्ष मह राम्रो भएकाले यस वर्ष चार पटकसम्म मह काड्नु परेको मौरीपालक किसान गुरुङको भनाइ छ ।
उहाँहरुको मात्र नभई यस वर्ष जिल्लाका जनक तिवारी, विष्णु राना, केशबहादुर गुरुङ, बोधराज थापा, यमबहादुर गुरुङलगायत मौरीपालक किसानको मह उत्पादनमा राम्रो भएको बताइएको छ । त्यस्तै बेँसीशहर नगरपालिकाभरिका किसानले यस वर्ष २६ क्वीन्टल मह उत्पादन गरेका छन् भने गत वर्ष २४ क्वीन्टल मात्र उत्पादन भएको थियो । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीशहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij