
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । लामो समयदेखि लापरबाहीका कारण अलपत्र तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्नेगरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
कूल ४२ महिनामा सम्पन्न गर्नेगरी यसको ठेक्का वाइ पि किरातेश्वर जेभीलाई दिइएको छ । गत महिना ठेक्का भएकामा अहिले पेश्की दिइएको र कम्पनीले काम सुरु गर्न लागेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार रहेको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्सन प्रालीको लापरबाहीका कारण अलपत्र बनेको थियो । सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो।
तीनकुने पुल पप्पु कन्स्ट्रक्सनसँग रु २१ करोडमा ठेक्का भएको थियो । सो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनःनिर्माण सुरु गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij