
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले स्थानिय तहको निर्वाचनमा टिकट पाएनन् ।
देवचुली नगरपालिकामा मेयरको टिकटको लागि कांग्रेसका नेता डा. शशांक कोइराला तथा जिल्ला स्तरीय नेताहरुले आश्वासन दिए पनि उनले टिकट नपाएका हुन् । जिल्लास्थित एक कांग्रेस नेताका अनुसार कोइरालाले उनलाई उम्मेदवारी दिन भनेका थिए । यद्यपि कांग्रेसले अन्तिममा उनलाई टिकट नदिई विष्णु बस्ताकोटीलाई उम्मेदवार बनायो ।
यस्तै, सामान्य प्रशासन मन्त्रालयमा राजीनामा बुझाएर मेयरको टिकट दाबी गरेका भुसालले उम्मेद्वारी दिनेबेलामा टिकट नपाएपछि राजनीति सम्भावनाको खेल मात्रै भएको बताएका छन् ।
कांग्रेसले टिकट नदिएपछि उम्मेद्वार नै नबनेका उनले राजनीति सम्भावनाको खेल मात्रै बुझेको र राजनीति भनेको निश्चित नभएको उनले बताएका हुन् ।
देवचुली गाउँपालीकाको कांग्रेस सभापति पनि रहिसकेका भुसालले लोकसेवा आयोग हुँदै निजामती सेवा प्रवेश गरेपछि राजनीति छाडेका थिए ।
२५ वर्षे निजामति सेवा पूरा गरेका उनले केहि साताअघि देवचुली नगरपालिकामा मेयरमा उम्मेदवारी दिन उपसचिव पदबाट राजीनामा दिएका थिए । भुसालले सामान्य प्रशासन मन्त्रालयमा बुझाएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij