
May 18 2025 | २०८२, जेठ ४ गते
नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी)का बिषयमा देखिएका भ्रमहरु निवारण भएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित भएपछि यसमा देखिएका भ्रम निवारण भएको बताएका हुन् ।
कांग्रेसले अमेरिकी आर्थिक सहयोग सम्झौता एमसीसीबारे नेपाल र अमेरिकाको समान बुझाई भएको दाबी गरेको छ । दलहरूको आग्रहमा उठेका केही प्रश्नमा १२ बुँदे व्याख्या गरेपछि एमसीसीमा नेपाल र अमेरिकाको समान बुझाई भएको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतको दाबी छ।
एमसीसीलाई लिएर नकारात्मक दृष्टिकोण राख्नु अब उचित नभएको भन्दै महतले एमसीसी विशुद्ध आर्थिक र विकास परियोजना भएको प्रष्ट्याए ।
एमसीसीको सन्दर्भमा भ्रम निवारण संसदमार्फत गरिएको छ । भ्रम र अन्योल हटेको छ । औपचारिक सहभागिता नभए पनि एमाले सहभागी भएको बुझेका छौं । पार्टी सभापतिको सुझबुझ, धैर्यताका कारण अनुमोदन सम्भव भएको छ’ उनले पत्रकार सम्मेलनमा भने ।
एमसीसी अनुमोदनले नेपाली कांग्रेस परिपक्व निर्णय गर्छ र त्यसमा अडिन्छ भन्ने छाप नागरिकमा परेको प्रवक्ता महतले दावी गरे । ‘केही भ्रम रहेको भए त्यसलाई चिर्न कांग्रेस लागिरहन्छ । बुझाइमा समस्या रहे हामी बुझाउँछौं’ उनले भने ।
केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै महतले जनमानसमा उठेका आशंकालाई चिर्दै एमसीसी अनुमोदन भएको भन्दै अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने बताएका हुन् । केही भ्रम भए अझै पनि चिरेर जान कांग्रेस तयार रहेको उनको भनाइ छ ।
‘केही आशंका संसदमा व्यक्त भयो । हाम्रो व्याख्यालाई कागजको खोस्टो हो अमेरिकाले स्वीकार्दैन भन्ने कुरा पनि गरिए तर हामीले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा र अमेरिकाको बुझाई एउटै हो । अमेरिकाले पनि हाम्रो व्याख्यालाई स्वीकारेको छ’ महतले भने, ‘१२ बुँदेमार्फत हाम्रो बुझाई अघि सारेका छौं । उहाँहरूको बुझाई पनि यही हो भन्ने आएको छ । एमसीसी सैन्य र इन्डो प्यासिफिक रणनीतिको अंग होइन आर्थिक सहयोग मात्रै हो । आयोजना अन्तर्गतका जग्गा जमिनको स्वामित्व हाम्रो हुने सम्झौतमा नै उल्लेख छ । नेपालको कानुनभन्दा माथि पनि छैन ।’ तर पनि प्रश्न उठेपछि १२ बुँदे व्याख्यामार्फत कुरा राखेको भन्दै महतले अब सम्झौता निर्धक्क अघि बढ्ने बताए ।
‘केही उठेका विषयमा व्याख्या भइसकेको छ । उहाँहरूको बुझाई पनि यही छ । यसैले अब सम्झौता अघि बढ्छ’ महतले भने, ‘विकास र सहयोग सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ । अबको सम्पूर्ण ध्यान आयोजनालाई सम्पन्न बनाउनेतिर लाग्नुपर्छ । जुन स्पिरिटमा पास भयो । यसै अनुसार लागू हुन्छ ।’
महतले नेपालको कानुन अनुसार एमसीसी सम्झौता अघि बढ्ने, लेखा परीक्षण हुने, आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्ने भन्दै संशय नपाल्न पनि आग्रह गरे । आगामी दिनमा पनि कांग्रेसले गलत गर्यो की भन्ने भ्रम रहे चिर्न तयार रहेको उनको भनाई छ ।
सत्ता गठबन्धन र एमसीसीको विषय अलग रहेकोसमेत उनले बताए । ‘एमसीसीको सहयोग आफ्नो ठाउँमा छ । एमसीसीको गुणदोषको आधारमा गठबन्धनको हिसाब हुँदैन ।’ उनले भने । एमसीसी पास गर्न सहयोग गर्ने सदस्य र पार्टीहरूलाई कांग्रेसको तर्फबाट महतले धन्यवाद दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij