
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने प्रवक्ता जगनाथ खतिवडाले बताएका छन् । ‘एमसीसीको विपक्षमा मतदान गर्छौ । एमसीसी पारित हुन नदिने पहल गर्छौ’, खतिवडाले भने । हिजो सोमबार बोलाइएको सचिवालय बैठक भने स्थगित भएको छ । अर्को बैठक आज मंगलबार बस्ने जानकारी दिइएको छ । समय नपुगेकाले सचिवालय बैठक हिजो बस्न नसकेको खतिवडाले बताए । हिजो बैठक बस्न नसकेपनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच भने छलफल भएको छ छलफलमा नेता खनालले प्रतिनिधिसभामा अवरोध कायमै रहेका बेला एमसीसी टेबल गरेकैमा आपत्ति जनाए । तर अध्यक्ष नेपालले परिस्थिति नै त्यस्तो बनेको स्पष्टीकरण दिए । उनका अनुसार बालुवाटारमा भएको शीर्ष नेताहरुको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पास फेल के गर्ने तपाईंहरु आफ्नो निर्णय गर्नुस् । तर टेबल गर्न चाहिं दिनुस्’ भनेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहमति दिएपछि आफूले पनि मानेको अध्यक्ष नेपालको प्रष्टोक्ति छ । तर संसदमा आएपछि प्रचण्डले बोली फेरेर प्रमुख सचेतक देव गुरुङलाई बोल्न लगाएको भन्दै उनले भनेका छन्, ‘मैले त त्यसो गर्न सकिनँ ।’ अध्यक्ष नेपाल नउठेपनि नेता खनालले भने उठेर एमसीसीविरुद्ध नाराबाजी नै गरेका थिए भने एकीकृत समाजवादीका केही सांसदले पनि विरोध गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij