Jun 28 2026 | २०८३, असार १४ गते
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा वित्तिय तथा सहकारी संस्था समन्वय विभागका सचिव सुरेन्द्र भण्डारीले ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएपछि प्रधानमन्त्री देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुने गरी सहकारी बैंक खोल्नु सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
काठमाडौं । नेपाली कांग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गरेका थिए ।
प्रधानमन्त्री देउवासँगको भेटमा विभागका सचिव भण्डारीले ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएपछि प्रधानमन्त्री देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुने गरी सहकारी बैंक खोल्नु सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । भण्डारीले बैंकको अहिलेसम्मको प्रयास र प्रगतिको अवस्था सुनाएका थिए ।
विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुगेका थिए ।
यसैबीच, नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बैंक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैंक सञ्चालनमा आउने विभागका सचिव भण्डारीले बताए । नेपाल सहकारी बैंक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij