
Apr 02 2025 | २०८१, चैत २० गते
डा. अनुप बाँस्तोला
भाइटीकाको राति १० बजे एउटा फोन आयो, ´४०-४५ वर्षको बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ, एकदम सिकिस्त । एम्बुलेन्स पाइँदैन, बिरामी कसरी ल्याउनु ?´ मैले `पीसीआर गराइसक्नु भयो ?´ भनेर सोधेँ, उहाँहरूले `छैन´ भन्नूभयो । `जुनसुकै सवारी साधन खोजेर तत्काल अस्पताल ल्याउनोस्´ भने । मलाई लाग्यो, `बिरामी अस्पताल पुग्नु हुनेछ ।´ तर, दुर्भाग्य, डेढ घण्टापछि फोन आयो, बिरामी बित्नु भयो ।
सायद समयमै अस्पताल आइपुग्नु भएको भए, बिरामीलाई बचाउन सकिन्थ्यो कि? अल्पायुमै जीवन गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली ।
यो घटनाले अहिले होम आइसोलसनमा लापरबाही र कोरोना परीक्षण नगरी दुई-चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने आम मानसिकताको उजागर गर्छ । कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यसले धेरैको ज्यान लिइसक्यो । बेवास्था र लापरबाहीले प्राण जोखिममा राख्ने काम कसैले नगरौं । लक्षण देखिएपछि कम्तीमा पीसीआर गराइहालौं, अनि स्वासप्रस्वासमा समस्या आउनासाथ अस्पताल लगिहालौं । गाह्रो पर्नासाथ एम्बुलेन्स वा अन्य सवारी साधनको तत्काल व्यवस्थापन गर्नेतर्फ शतर्क बनौं । कुन अस्पताल लैजाने भन्नेबारे जानकारी राखेर बसौं।
पीसीआर गरे बेकारमा १४-१५ दिन आइसोलेसनमा बस्नुपर्छ भन्ने सोचले धेरैले कोरोना संक्रमणलाई हलुका रूपमा लिएको पाइन्छ । यो गल्ती गर्दै नगरौं । तपाईंको जीवनभन्दा ठूलो १४-१५ दिनको आइसोलेसन होइन । लक्षण देखिएकालाई सरकारले पीसीआर टेस्ट नि:शुल्क गरिसकेको छ । त्यसैले कोरोना भाइरस संक्रमणको लक्षण देखिए टेस्ट गर्न ढिला नगरौं । कोरोना पोजिटिभ भएकाले कम्तिमा आफूलाई स्वासप्रस्वासमा अफ्ठ्यारो महसुस भए तुरुन्त परिवार-साथीभाई वा चिकित्सकलाई भनीहालौं ।
यो जाडोको मौसममा कोरोना भाइरसको फैलावट व्यापक हुन सक्छ । त्यसैले कृपया पटक्कै लापरबाही नगरौं, मास्क लगाऊँ, हात धोऊँ/स्यानिटाइज गरौं र भौतिक दूरी कायम राखौं ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij