
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । सवारी साधनमध्ये सबैभन्दा बढी विद्युतीय रिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ । जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने विद्युतीय रिक्सा र अटोरिक्साका चालकसँग सवारीसाधन अनुमतिपत्र हुने गरेको छैन । बजार आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारी साधनको चालकसँग भने सवारीचालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।
जहाँ भन्यो त्यहीँ पुर्याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले विद्युतीय रिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारीसाधन चलाउन बाध्य भएको देखिन्छन् । टेम्पो र विद्युतीय रिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वीरगञ्जले पटक–पटक फारम खुलाएर सी–क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले बताए ।
पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने टेम्पो चालक दिल प्रसादले आफूसँग सवारीचालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करीब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०–१५ जनासँग मात्र सवारीचालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शंकर गोसाईंको भनाइ छ । सवारी चालक अनुमतिपत्रका लागि पटक–पटक धाउँदा समेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले २५ हजार रुपैयाँसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र टेम्पो चलाउँदै आएका अधिकांश चालकहरूको गुनासो छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij